arrow

'प्रधानमन्त्रीलाई अब घर पठाउने दिन आए'

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको दुरुपयोग गरे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ चैत ५ बिहिबार
gagan-thapa16.jpg

स्याङ्जा । नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान भत्काउन चाहेको आरोप लगाएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका स्थित बयरघारीमा नेपाल तरुण दल भीरकोट नगर समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै काँग्रेसका युवा नेता थापाले प्रधानमन्त्री बरालिएको संज्ञा दिएका हुन् ।

 प्रधानमन्त्री ओलीको मति र गति ठिक नभएको आरोप लगाउँदै संविधान भत्काउने खेलमा लागेको आरोप थापाको थियो । दुईतिहाई मत दिएर नेकपाको सरकार चलाउन दिएको म्याण्डेड नेकपा भित्रकै किचलोका कारण देशलाई दुर्घटनामा धकेल्ने प्रधानमन्त्री ओली संसद्मा छलफल नहोस् भन्ने चाहाना रहेको थापाले जिकिर गरे ।

देशलाई समाल्ने जिम्मेवारी फेरी काँग्रेसको काँधमा आएको भन्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले कम्युनिस्टहरू निर्वाचन गराउन नसक्ने भएकाले अब चुनावी सरकार काँग्रेसकै नेतृत्वमा हुने बताए । आफ्नै पार्टीका नेता प्रचण्ड र माधव नेपाललाई हेप्दा-हेप्दा दुस्साहस बढेर संविधान र सांसदलाई हेप्न थालेको थापाको भनाई छ ।  आफैले सनकका भरमा भङ्ग गरेको संसद अदालतले व्युताईदिए पनि संसद्मा छलफल गर्न नसक्ने प्रधानमन्त्रीलाई अब घर पठाउने दिन आएको थापाले बताए ।

संवैधानिक आयोग ओली आयोग भएको जिकिर गर्दै निर्वाचन आयोग र अख्तियार आयोग स्वतन्त्रपुरले काम गर्न सक्ने वातावरणमा बन्देज लगाउने प्रधानमन्त्री ओली आफूलाई शासक भएको देखाउन चाहेको थापाले बताए । देशलाई मागेर खाने अवस्थामा यो सरकारले पुर्‍याएको बताउँदै अब काँग्रेसले मागेर होइन कारोबार गर्ने देश बनाउने थापाले दाबी गरे । जनताको शासक बन्ने प्रधानमन्त्री हाम्रो देशले खोजेको होइन नेता थापाले भने,‘जनता सँग डराउने प्रधानमन्त्री देशले चाहेको हो शासक होइन ।’ सनक चल्यो भन्यो जे पनि गर्न खोज्ने प्रधानमन्त्रीलाई अब घर पठाउने हो थापाले भने ।

लामो समय प्रधानमन्त्री ओली प्रति लक्षित राखेर गाली गरेका थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाललाई पनि कटाक्ष प्रयोग गरे । आफैभित्र भागबण्डा मिलाउन नसकेर देशलाई दुर्घटनामा धकेल्ने दुई नेताले पनि जिम्मेवारी लिनुपर्ने जिकिर गरे । राष्ट्रपति विद्यादेवी भण्डारी देशको राष्ट्रपति नभएको बताउँदै थापाले राष्ट्रपति केपी गुटको प्रवक्ता भएको बताए । राष्ट्रपति देशको अभिभावक हो थापाले भने,‘बरालिएका प्रधानमन्त्रीले जे पठायो त्यही सदर गरिदिने भण्डारीलाई कसरी राष्ट्रपति मान्ने ।’ देशलाई सङ्कट निम्ताउने राष्ट्रपतिको अदुरदर्शीता पनि देशका घातक हो उनले भने ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंङ बस्नेतले देशलाई सङ्कट पर्दा तरुण दलले काँध थाप्ने गरेको बताए । कोरोना सङ्क्रमणका बेला सरकारले जनताको समस्या र आवश्यकता भन्दा पनि कसरी भ्रष्ट्राचार गर्न सकिन्छ भन्ने तर्फ लागेको आरोप बस्नेतको थियो । काँग्रेस इतिहास बोकेको पाटी भएकाले जब-जब मुलुकमा अफठ्यारो पर्छ काँग्रेसले नेतृत्व लिएर समालेको इतिहास सम्झँदै बस्नेतले फेरी सङ्कटमा परेको मुलुकलाई काँग्रेसले सम्हाल्ने दिन आएको बताए ।
 
कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक सभापति कुमार राना, संविधानसभाका सदस्य राजु थापा, पूर्व पाटी सभापति शङ्कर पाण्डे, गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ, भागवत प्रकाश मल्ल, नेपाल महिला सङ्घका केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, महासमिति सदस्य भोजराज अर्याल, नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिम्सिना, युवराज पाण्डे, नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष भरत लम्साल, तरुण दल क्षेत्रीय अध्यक्ष दीपेन्द्र केसी, महेश भट्टराई, कुमबहादुर गुरुङ र जिल्ला सदस्य तारा अर्याल लगायतका वक्ताहरूले गुट उपगुटको राजनीतिबाट काँग्रेस बाहिर निस्केर कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने बताएका थिए ।

तरुण दल भीरकोट नगर समितिका अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रसून मगर र प्रवीण विक्रम खाँणले गरेका थिए भने धन्यवाद नेपाली काँग्रेस भीरकोट नगर सभापति तोयनाथ अर्यालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ