arrow

राजनैतिक बेथिति

माओवादी नबनेर रोकियो कर्मचारीको तलब, कांग्रेस हुनुको मूल्य चुकाउँदै

शिक्षकको तलब रोकियो, कार्यालय सहायकले नियुक्ति पाएनन्

logo
प्रकाशित २०७७ चैत ६ शुक्रबार
Deuba-prachanda.jpg1.jpeg

रुकुम पश्चिम । पार्टीको सदस्यता नलिएकै कारण सरकारी कर्मचारीले तलब पाउँदैनन् भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर रुकुममा भने यसको गतिलो उदाहरण देखिन्छ । फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुले जागिर नपाउने गुनासो बढिरहेका बेला सरकारी कर्मचारीहरुले समेत तलब नपाउने गरेको पाइएको छ ।

पछिल्लो पटक माओवादी पार्टीको सदस्यता नलिएको भन्दै यहाँका एक सरकारी विद्यालयमा कार्यरत शिक्षकको तलब गाउँपालिकाले रोक्का गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ स्थित जनप्रिय माध्यमिक विद्यालयका एक शिक्षकको नाम तलब पाउनेको लिस्टबाट हटाएपछि चार महिनादेखि तलब पाएका छैनन् ।  

यहाँका शिक्षक केपबहादुर खड्काको आव ०७७–०७८ को दोश्रो चौमासिकको तलव रोक्का गरिएको हो । उनी दुई वर्ष पहिले गाउँपालिकाको अनुदान कोटामा प्रतिस्पर्धा गरेर नियुक्त भएका हुन् । 

धेरै समयदेखि उनलाई माओवादी बन्न दबाब आइरहेको र उनले सदस्यता लिन नमानेपछि तलब रोकिएको छ ।

 ‘म बिद्यालयमा नियमित गएर पढाउने काम गरिरहेको छु, तर राजनीतिक आस्थाको आधारमा तलब दिइएन,’ शिक्षक खड्काले भने, ‘यो भन्दा शोषण र अन्याय के होला र ?’ उक्त विद्यालयका अन्य सबै कर्मचारीको तलब भने नियमित भैरहेको छ । गत कार्तिक महिनादेखिको तलब खड्काले पाएका छैनन् ।

खड्का नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको साधारण सदस्य हुन् । उनलाई गाउँपालिका र वडा स्तरका माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीको सदस्यता लिन पटक पटक दबाब दिँदै आएका थिए । जबरजस्ती सदस्यता लिन दवाव दिइरहे तापनि उनले शिक्षक संघ नछोड्ने बताएका थिए । त्यसपछि गाउँपालिकाले उनको तलब रोकेको हो ।

यता गाउँपालिका अन्तर्गतको शिक्षा शाखाले भने चौमासिकको तलब सूचीमा शिक्षक खड्काको विवरणसमेत साविक झै राखेर पालिकामा पठाएको थियो । 

तर गाउँपालिकाले भने उनको नाम तलबी विवरणबाट हटाएको हुनाले उनको तलब नआएको हो । श्रोतका अनुसार त्यहाँको विद्यालय व्यबस्थापन समितिको मिलोमतोमा पालिकाले तलब नदिएको हो ।

नेपाल शिक्षक संघ रुकुमकी अध्यक्ष तारा चन्दले शिक्षक संघको सदस्यता नविकरण नगर्न दबाब आएको तर उनले सदस्यता नविकरण गरेको सूचना गाउँपालिमा पुगेपछि तलब रोक्का गरेको बुझिएको बताइन् । 

यसरी श्रमजीवी शिक्षकलाई मानसिक तनाव दिँदै शोषण गर्न नपाइने र यस कार्यको प्रतिवाद गरिने अध्यक्ष चन्दको भनाई छ ।  

कार्यालय सहायकले नियुक्ति पाएनन्
त्यतिमात्रै होइन सो विद्यालयमा कार्यालय सहायक नियुक्तिमा समेत विवाद बढेको छ । वडा अध्यक्ष कर्णबहादुर खड्का र प्रधानाध्यापक डिल्लीबहादुर खड्काले आफ्ना मान्छे घुसाएको भन्दै विद्यालय व्यवस्थापन समितिले कार्यालय सहायकमा नाम निकालेका रामेश्वर खड्कालाई नियुक्ति दिएको छैन । 

गत फागुन महिनाको २७ गते कार्यालय सहायकको परीक्षा लिएर रामेश्वरको नाम निकालिएको थियो । उक्त परीक्षामा अनियमितता भएको आरोपसहित समितिले नियुक्ति रोकेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ