- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुंगा । मंगलबारदेखि शुरु भएको चिशंखुगढीको वन क्षेत्रको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौं हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।
नेपाल टेलिकमको टावर र वस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्नी रेखा समेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो नियन्त्रणमा लिन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।
आगोलागीबाट वन क्षेत्रमा कति, कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए । उनले वन क्षेत्रमा भएको क्षति यकिन गरेर थप जानकारी दिने बताए ।
सुरक्षाकर्मीले समेत आगो नियन्त्रण गर्न कठिन भएको आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेको क्षेत्रमा पुनः सल्किएको छ ।
खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन वन क्षेत्रमा अग्नि रेखा कोरेर आगो नियन्त्रणमा लिने कोशिस गरिरहेको चिशंखुगढी वडा नं. ४ का अध्यक्ष हिमाल राईले बताएका छन ।
आगलागीबाट करिब २० हेक्टर वन जलेको समेत अध्यक्ष राईले बताएका छन । खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।
स्थानियबासीसहित सुरक्षाकर्मीको प्रयास भईरहे पनि नियन्त्रणमा ल्याउन नसकेको स्थानीयले गुनासो गरेका छन् । वन क्षेत्रमा आगलागी र चोरी निकासीले क्षति पुगे पनि सरोकारवाला कार्यालय मौन रहेको स्थानीयको आरोप छ ।