arrow

एमालेमा रमिता

ओली र नेपाल पक्षको एकै समयमा छुट्टाछुट्टै संसदीय दलको बैठक

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
kp-madhav-jN.jpg

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता टुक्राइदिएर २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्याइदिएपछि एमालेभित्र निकै नै किचलो भइरहेको छ । ओली समूह र नेपाल–खनाल समूहबीच चर्काचर्की चलिरहेको छ । 

यो विवादले पार्टी फुटतर्फ अग्रसर भइरहेको छ । गत फागुन २८ गते एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका पदाधिकारीलाई (महासचिव बाहेक) हटाएपछि विवाद झन् चुलिएको छ । 

शनिबार एमालेको ओली घटकले संसदीय दलको बैठक बोलाएको छ । पार्टीको सिंगो संसदीय दलको बैठक भनिए पनि प्रधानमन्त्रीको सरकारी निवासमा बैठक डाकिएपछि नेपाल समूह झनै आक्रोशित भएको छ । 

यो बैठक बिहान १०ः३० बजेलाई डाकिएको छ । सरकारी निवासलाई पार्टीको अखडा बनाउन खोजेको भन्दै नेपाल समूहले पार्टी मुख्यालयमै बैठक गर्नुपर्ने भनिरहेको छ । उसले संसदीय दलको बैठक संसदीय दलको कार्यालयमा र केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालयमा डाक्नुपर्ने बताइरहेको छ । 

त्यस्तै ओली समूहले नै केन्द्रीय कमिटी बैठक मध्यान्ह १२ बजे बोलाएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पहिलो बैठक बिहान १०ः३० र दोस्रो बैठक मध्यान्ह १२ बजे बालुवाटारमा डाकिएको छ । 

यता, नेपाल–खनाल समूहले उक्त बैठकमा नजाने बताइसकेको छ । उसले फागुन २८ को निर्णय फिर्ता लिन माग गरेको छ । त्यस्तै अदालतको सम्मान गर्न समेत आग्रह गरेको छ । 

उक्त समूहले चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय भेला नै आयोजना गरेको थियो । उसले चैत ६ देखि देशभर समानान्तर भेला नै गरिरहेको छ । 

नेपाल समूहले शनिबार १०ः३० बजे नै संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुलाई बोलाएको छ । छलफलका लागि उक्त भेला बोलाइएको नेपाल समूह निकटका सांसद जीवनराम श्रेष्ठले बताएका छन् । 

श्रेष्ठ भन्छन्, ‘हामी केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदैनौं । हामीले भनेका छौं संर्वोच्चको फैसला अनुसार २०७५ साल जेठ २ गतेको नेकपा एमालेको स्थितिमा मात्र हामी सहभागी हुन्छौं ।’

कारबाही गर्ने भन्दै छन् एमाले अध्यक्ष केपी शर्मा ओली भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘यो पार्टी फुट्नु हुन्न भन्ने पक्षमा छौं । हामी विभाजित गर्न चाहँदैनौं । तर पार्टीलाई एक ढिक्का गर्न खोज्दा पनि कारबाही हुन्छ भने हामी भोग्न तयार छौं ।’

अदालतको अनुसार नगर्नु भनेको अदालतको अपमान गर्नु पनि हो भन्दै श्रेष्ठले भने, ‘सुशासनको कुरा गर्ने अनि आफ्नो पार्टीको छलफल प्रधानमन्त्रीको सरकारी निवासमा गर्नु गलत हो ।’ 

उनले ओलीको ‘स्वास्थ्य नाटक’ बारे भने, ‘सधै बिरामी छु भन्ने बहानामा सरकारी निवासमा बैठक बोलाउनु गलत हो । बिरामी भएको भए मेची महाकाली दौडिराख्नु भएको छ हामीले कसरी पत्याउने ?’ 

उनले थप स्पष्ट पारे, ‘संसदीय दलमा र पार्टी कार्यालयमा बैठक बोलाइए हामी जाँदैनौं ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ