arrow

ओलीले एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित : झलनाथ खनाल

logo
प्रकाशित २०७७ चैत ७ शनिबार
jhalanath-khanal-ncp.jpg

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित रहेको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको संसदीय दलको बैठकमा आफूलाई कुनै आधिकारिक खबर पनि नआएको बताउँदै खनालले आफू उक्त बैठकमा उपस्थित नहुने शनिबार एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

ओली पक्षले शनिबार १०ः३० बजेलाई दलको बैठक बोलाएको छ । त्यस्तै केन्द्रीय कमिटी बैठक मध्यान्ह १२ बजे बोलाएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पहिलो बैठक बिहान १०ः३० र दोस्रो बैठक मध्यान्ह १२ बजे बालुवाटारमा डाकिएको छ ।

‘आजको बैठकमा माननीय झलनाथ खनाल सहभागी नहुने कुरा सबैलाई जानकारी गराइन्छ। र गूटगत निर्णय पनि अमान्य हुने कुरा सबैमा सूचित गरिन्छ’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईद्वारा जारि विज्ञप्तिमा भनिएको छ।

 ‘एमाले पुनस्स्थापित हुनुको अर्थ २०७५ जेठ ३ गते अघिको कमिटी क्रियाशील हुनु हो । तर अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरिएका निर्णयहरू पार्टी विधान विपरित छन् । यो निर्णय बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुन्नमा आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

 ‘नेकपा (एमाले)को दलको विधान नभएको अवस्थामा बोर्ड गठन भन्ने कुरा अबैधानिक छ। दलका सदस्यहरूलाई बैठकमा नबोलाउने, निषेध गर्ने, दुराग्रहप्रेरित ढङ्गले चल्ने, सदस्यहरूलाई उपस्थित नै नगराउने र फेरि बोर्डमा राखिएको भन्ने हल्ला पिटाउने कार्य गलत छ। हामीलाई आजसम्म पनि बोर्ड गठन गरिएको बारेमा आधिकारिक सूचना र जानकारी आएको छैन’, विज्ञप्तिमा भनिएको छ ।

खनालले सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई राजनीतिक फैसलाको रूपमा लिएको भएपनि आफूहरू उक्त फैसला मान्ने भन्दै विधानअनुसार पार्टी चल्नुपर्ने धारणा राखेका छन् । खनाल-नेपाल पक्षले एमालेको संसदीय दल र केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ