arrow

काठमाडौंमा एक साताका हत्या र आत्महत्या घटनामा आठको गयो ज्यान

लागु औषध र विषादी कनेक्सन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत ८ आइतबार
hatya-murder.jpg

काठमाडौं। काठमाडौंमा पछिल्लो एक सातामा भएका तीन हत्या र दुई आत्महत्याका घटनासहित पाँच  घटनामा आठ जनाको ज्यान गएको छ ।गत २९ फागुनमा टोखा नगरपालिका-१ मा मोरङको उर्लाबारी घर भएका आशिष लिम्बुको हत्या भएको थियो भने २ चैतमा आफ्नै श्रीमानले बल्खुमा घन प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेका थिए ।

प्रहरीले गत शुक्रवारसमेत काठमाडौंको चाल्नाखेलबाट दुई युवाको शव फेला पारेको थियो । यसै गरी बौद्ध क्षेत्रमा शुक्रवार नै तीन जनाले विभिन्न कारणले आत्महत्या गरेका थिए ।यस्तै आइतबार बिहानै कलङ्की क्षेत्रमा एक युवकको ढुङ्गा प्रहारबाट निधन भएको छ । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिइसकेको छ ।

टोखा र बल्खु हत्यामा लागु औषध कनेक्सन

प्रहरीका अनुसार टोखामा भएको हत्याको घटना लागू औषध सेवनको विषयमा भएको विवादबाट उत्पन्न अवस्थाका कारण भएको प्रहरी बताउँछ ।  यसै गरी बल्खुमा आफ्नै श्रीमतीलाई घन प्रहार गरी हत्या गर्ने व्यक्तिसमेत लामो समयदेखि लागू औषध सेवन गर्ने व्यक्ति भएको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले टोखा र बल्खु घटनामा लागू औषध सेवनका कारण घटनाको स्थिति उत्पन्न भएको पाइएको बताए ।

गत २९ फागुनमा टोखाको मालुङ्ग साङ्ला ढलान नजिकै बाँसको झाङमा लिम्बुको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा लागु औषध गाँजाको विवादले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले सो हत्याको घटनामा संलग्न तीन जना आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहट घर भएका मोहम्मद कासिम मन्सुरी र सेख अब्दुल आलम छन् ।

उनीहरुबीच २८ फागुनमा टोखा नपा- ३ सूर्यदर्शन हाइटस्थित मन्सुरीले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा गाँजाको विषयमा विवाद भएको र विवादले हत्याको रूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

यसै गरी बल्खुको सुकुम्वासी वस्तिमा भएको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतक सन्तोषीका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरी कारबाहीअघि बढाइसकेको छ ।

उनले पक्राउ परेपछि प्रहरी समक्ष दिएको बयानमा आफूले लागू औषध सेवन गर्ने गरेको र श्रीमतीसँग विवाद बढ्दै गएपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।

उनीहरुबीच विवाद बढ्दै गएपछि श्रीमती सन्तोषी गत वैशाखदेखि नै माइती बस्दै आएको र सधैँ झगडा हुने गरेका कारण श्रीमतीले डिभोर्स मागेपछि आफूले सहन नसकेर घर आएको मौकामा हत्या गरिदिएको बयान सन्तोषले प्रहरी समक्ष दिएका छन् ।

चाल्नाखेल घटनामा भेटियो विषादीको बट्टा

गत शुक्रवार दक्षिणकाली नगरपालिका-१, खहरेमा प्रहरीले मृत अवस्थामा दुई जनाको शव फेला पारेको थियो । उनीहरूको शव भेटिएको स्थान नजिकै सल्फास नामक विषादीको बट्टा समेत प्रहरीले फेला पारेका कारण आत्महत्याको आशङ्का छ ।

प्रहरीले उनीहरूको शवको सनाखत गर्दा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङ रहेको खुलेको थियो ।

प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे । उनीहरू दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको काठमाडौं प्रहरीका प्रवक्ता एवं एसपी रमेशबहादुर बस्नेतले जानकारी दिए । सो घटनामा प्रहरीले थप अनुसन्धान जारी राखेको छ । घटनाको कारण के हो भन्ने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने एसपी बस्नेतले बताए ।

शुक्रवार एकै दिन तीन जनाले गरे आत्महत्या

काठमाडौंको मुलपानी, अत्तरखेल र कपनमा भएको घटनामा भने  तीनै जनाले आत्महत्या गरेको पाइएको प्रहरी बत्ताउँछ ।शुक्रवार मूलपानी, अत्तरखेल र कपनमा एकै दिन तीन जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता बस्नेतले जानकारी दिएका हुन् ।

मुलपानीस्थित तिवारी टोलमा डेरा गरेर बस्ने २४ वर्षीया दीपा श्रेष्ठले आफु बस्ने घरको छतमा फलामे बारमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

यसै गरी अत्तरखेल बस्ने ओखलढुंगाका बाबुराम बस्नेत साथीको डेरामा झुण्डिएको अवस्थामा फेला परेका थिए । करिब ३५ वर्षीय बस्नेत साथीको कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी बत्ताउँछ । उनी ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका स्थानीय हुन् ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा २४ वर्षीया विनिता पहरीलेसमेत सोही दिन नै झुण्डेर आत्महत्या गरेकी थिइन् । काभ्रे घर भएकी पहरी आफ्नै डेरामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । यी तीन वटै घटनास्थल बौद्ध प्रहरीको क्षेत्रमा पर्छ ।

कलंकीमा ढुंगाले हानेर हत्या

आइतबार बिहानै कलंकीमा भएको हत्याको घटना ढुङ्गा प्रहार गरी भएको खुलेको छ । प्रहरीका अनुसार आइतबार बिहानै तीन बजे ढुङगाले हानेर कलङ्की थापागाउँमा चौधरी थरका व्यक्तिको हत्या गरिएको थियो ।

प्रहरीले हत्या आरोपीलाई पक्राउ गरिसकेको जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले सिन्धुली सुनकोशीका २१ वर्षीया दिनेश थापालाई पक्राउ गरेको हो ।

घटनालगत्तै महानगरीय प्रहरी प्रभाग कलंकीसहित परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले घटनास्थल पुगी सिसिटिभी फुटेज निकालेको थियो । सो क्रममा होचो कदका क्याप लगाएका व्यक्तिको संलग्नता रहेको प्रहरीले 'क्लु' फेला पारेको थियो ।

सोही आधारमा खोजतलास अघि बढाएको प्रहरीले सिन्धुलीका थापालाई पक्राउ गरेको हो । उनले शनिवार मृतकसँग झगडा भएको र सोही कारणले आफूले हत्या गरेको प्रारम्भिक बयान प्रहरीमा दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ