arrow

कोरोना महामारीबीच राष्ट्रपति भण्डारीको बंगलादेश यात्रा, यस्ता छन् उद्धेश्यहरु 

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
vidya-devi-bhandari-banglad1.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबीच राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बंगलादेश गएकी छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणमा भण्डारी दुई दिने राजकीय भ्रमणका लागि त्यसतर्फ गएकी हुन् । 

राष्ट्रपति भण्डारी बिहान ८ः४० बजे नेपाल एअरलाइन्सको जहाजबाट ढाका प्रस्थान गरेकी हुन् ।  

कोरोनाको महामारी बढेको भए पनि राष्ट्रपति भण्डारीको टोली भने स्वास्थ्य मापदण्ड अपनाउँदै विशेष चार्टर्ड विमानमा सुरक्षित साथ बंगलादेश गएको हो । 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा पनि सहभागी हुनेछिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले त्यहाँको सहिद स्मारकको भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौडेल र अन्य केही उच्च सरकारी अधिकारी र एक सांस्कृतिक टोली पनि रहेको छ । 

उनले ढाकास्थित नेपाली दूतावास भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग भेट गर्ने तालिका पनि रहेको छ । राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश फर्कने छिन् । 

यस्ता छन् समझदारी 
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी हुने छन् । सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र, कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादी लगायतका विषयमा छलफल हुने सञ्चारमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । 

 रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

कोरोनाबीचको जमघट
अहिले कोरोना भाइरस तीव्र भइरहेको छ । आइतबार मात्रै ४ लाख २० हजार ५०७ जना नयाँ संक्रमित थपिएका छन् । ५ हजार ९१७ जनाको ज्यान गएको छ । 

नेपालमा आइतबार ७७ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । ३ हजार १६ को ज्यान गइसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मात्रै प्रेस विज्ञप्ति निकालेर सभा, सम्मेलन, गोष्ठी, जुलुस, भीडभाड हुने व्यवसाय नगर्न आग्रह गरेको छ । 

बंगलादेशमा आइतबार २ हजार १७२ जना संक्रमित थपिएका छन् । अहिलेसम्म ५ लाख ७० हजार ८७८ जना संक्रमित भइसकेका छन् । 

आइतबार २२ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने बंगलादेशमा ८ हजार ६९० पुगेका छन् । 
 

सवारी आवागमन अस्तव्यस्त 
राष्ट्रपति भण्डारीको सवारीका कारण काठमाडौंमा बिहान गाडीको आवागमन प्रभावित भएको छ । शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मका विभिन्न रुटमा गाडी डाइभर्सन गरिएको हो । 

ट्राफिक प्रहरीका अनुसार शीतल निवास, महाराजगञ्ज, लैनचौर, सिनामंगल, रातोपुल, गौशाला लगायत क्षेत्रमा गाडीको आवागमन रोकिएको थियो । राष्ट्रपति भण्डारी सवार सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ