arrow

राष्ट्रपति भण्डारीलाई बङ्गलादेशमा २१ तोपको सलामी : बङ्गलादेशी राष्ट्रपतिले गरे स्वागत

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
president-Bidya-Devi-Bhandari-dhaka.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई बङ्गलादेशमा २१ तोपको सलामीसहित स्वागत गरिएको छ ।  सोमवार बिहान दुई दिने बङ्गलादेश भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी ५४ सदस्य टोलीसहित ढाका प्रस्थान गरेकी थिइन् ।
 
ढाकाको स्थानीय समयानुसार बिहान १० बजेर १७ मिनेटमा बङ्गलादेश पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका हुन् । भण्डारीलाई स्वागतमा विमानस्थलमा बङ्गलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएका हुन् ।

राष्ट्रपति भण्डारी बङ्गलादेश स्वतन्त्र भएको ५० वर्षको अवसरका आयोजना हुने कार्यक्रममा सहभागी हुने छिन् ।  यस्तै राष्ट्रपति शेख मुजिबुर रहमानको शतवार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

भण्डारीको स्वागतमा विमानस्थलमा बङ्गलादेशी विदेश मन्त्री एके अब्दुल मोमेन, स्वास्थ्य मन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए । राष्ट्रपति भण्डारी सोमवारै ढाकाको सावर पुगेर बंगलादेशी स्वतन्त्रता आन्दोलनका शहिदको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ रहँदा उनले वृक्षारोपण गर्ने र आगन्तुक पुस्तिका हस्ताक्षर गर्नेछिन् ।

यस्तै सोमवारै अपराह्न बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रपति भण्डारीको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेकी छन् । सो कार्यक्रममा नेसनल परेड स्क्वायरमा हुनेछ ।  यस्तै राष्ट्रपति बंगबन्धुको शतवार्षिकमा पनि भण्डारीले सम्बोधन गर्ने जनाइएको छ । त्यसपछि साँझ आयोजना हुने रात्रीभोजमा भण्डारी सरिक हुने जनाइएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा भ्रमण दलमा छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा भेषराज अधिकारी छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा सहभागी हुनेछन् ।

राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मङ्गलवार अपराह्न ४ बजेर ५५ मिनेटमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ