arrow

खनाल-नेपाल पक्षले ओलीलाई लिखित जवाफ फर्काउने विषयमा छलफल केन्द्रीत

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
kp-madhav-jN.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भनेर अडान लिएको खनाल-नेपाल पक्ष लचक बनेको छ ।

उक्त पक्षले लिखित रुपमै स्पष्टीकरण फर्काउने निर्णय गर्ने तयारीमा जुटेको छ । पार्टी केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको १० बुँदे स्पष्टीकरणको लिखित जवाफ फर्काउन लागेको हो ।

ललितपुरमा सोमबार सम्पन्न खनाल-नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने छलफल केन्द्रित भएको छ । 

स्पष्टीकरणको काउन्टर जवाफ के दिने भन्ने विषयमा अन्तिम टुंगो नगागेपनि लिखित जवाफ पठाउने कि भन्ने विषयमा छलफल केन्द्रित भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘समूहमा छलफल चलिरहेको छ, सुझावहरु लिनेक्रम जारी छ, उनले भने । 

गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे  र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तीन दिनभित्र जवाफ पेश नगरे नियम कानुन र विधान बमोजिम कारवाही हुने समेत चेतावनी दिइएको छ ।

बरिष्ठ नेता नेपाललाई सोधिएको स्पष्टीकरणमा कानुनविपरित सडकबाट अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष र साधारण सदस्य समेतबाट के आधारमा निष्कासन गरेको, नेकपाको वरिष्ठ नेताको जिम्मेवारीमा रहँदाको बेला अध्यक्ष ओलीविरुद्ध १९ बुँदे आरोपपत्र पेश गर्दा प्रचण्डको मतियार किन बनेको ? लगायतका प्रश्नको जवाफ मागिएको छ ।

त्यस्तैगरी निर्वाचन आयोगमा पटक पटक पार्टी फुटाउन निवेदन बोकेर किन गएको भन्नेदेखि समानान्तर कमिटी गठन तथा गुटका भेलाहरु गर्नुको जवाफ साथै प्रचण्डसँग अझै साँठगाँठ गरेको, एमाले कब्जा गर्न माधव नेपालहरु गएको भन्ने प्रचण्डको अभिव्यक्तिको खण्डन नगरेको तथा अहिले पनि प्रचण्डसँग एमाले नेतृत्वको सरकार ढाल्न अन्य विपक्षीलाई समेत उक्साएर साँठगाँठ गरेको जस्ता आरोप लगाउँदै जवाफ मागिएको छ ।

उक्त समूहले ओली संविधान, कानून र पार्टीको विधानसमेतलाई कुल्चेर स्वेच्छाचारिता एवं तानाशाही रुपमा अघि बढेको, पार्टीमा एकलौटी निर्णय गरेकोलगायतका आरोपहरु लगाएको छ । 



नयाँ