arrow

सरकारमा जाने मनस्थितिमा जसपा : महन्थ-राजेन्द्र बालुवाटारमा, उपेन्द्र-बाबुरामको बहिष्कार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १० मंगलबार
jasapa-rajpa.jpg

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिका लागि भन्दै बालुवाटार पुगेका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्रीसँग वार्ताका लागि बालुवाटार पुगेका हुन् । अहिले वार्ता जारी छ । 

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सरकारमा टिकाउन सघाउने गरी जसपा सरकारमा जाने विषयमा सहमति बनिसकेको छ । तर आफूहरूले उठाएका मुद्दालाई कसरी मिलाएर जाने भन्नेमा जसपाले निर्णय लिन सकेको छैन ।  

जसपासँग प्रधानमन्त्री ओलीले सांसद रेशम चौधरीको विषयमा अदालती प्रक्रिया पुर्‍याएर छाड्ने गरी सहमति गर्ने सम्भावना बढेको छ । जसपाले उधारो सहमतिमा सरकारमा जना गाह्रो हुने भन्दै लिखित प्रतिबद्धता खोजेको छ । 

यस्तै उनीहरूले उठाउँदै आएको संविधान संशोधनका विषयमा पनि ओली सहमतिका लागि तयार भएका छन् । संशोधनको मुद्दा सरकारमा गएपछि गर्न सकिने प्रधानमन्त्रीको आश्वासन छ । 

जसपा नेतृ चन्दा चौधरीले जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधनसहित विभिन्न राजनीतिक आन्दोलनका क्रममा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरूको मुद्दा खारेजी र उनीहरूको रिहाइको माग पनि गरेको जानकारी दिइन् । 

यसै गरी नागरिकताको विषयलाई पनि जसपाले मुद्दाका रूपमा अघि सारेको नेतृ चौधरीले बताएकी छन् । 

‘माग पुरा गर्ने सहमति भयो भने सरकारमा जान्छौं, तर सहमति हुनु पर्‍यो, केही अहिले होला केही पछि होलान् तर लिखित सहमति हुनुपर्छ,’ नेतृ चौधरीले हाम्राकुरासँग भनिन् । 

तर जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईसहित राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, राजकिशोर यादव तथा शरतसिंह भण्डारी सहितका नेताहरू भने सरकारमा जाने र प्रधानमन्त्री ओलीलाई सघाउने पक्षमा छैनन् । उनीहरूले सो विषयमा असहमति राख्दै आइरहेका छन् । 

अहिले जारी बालुवाटार बैठकमा उपेन्द्र र बाबुरामसहितका नेताहरू गएका छैनन् । उनीहरूले बालुवाटार बैठकलाई बहिष्कार गरेका छन्  । 

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार जोगाउन जसपाको समर्थन लिने प्रयास लामो समयदेखि निरन्तर गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर संवाद  हुँदै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ