arrow

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
nepal-airline-aa.jpeg

काठमाडौँ। सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड-१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो ।
    
बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए । यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

सो सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ ।
    
बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौँ-बेइजिङ उडान गर्ने निगमको तयारीबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
    
कोभिड महामारीबाट विश्व अर्थतन्त्र एवम् सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुन: त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन सङ्घीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।
    
सहप्रवक्ता सुलेश मिश्रका अनुसार निगमको वाइड बडी जहाज चैत १५ गते साँझ ५:३० बजे काठमाडाँैबाट बेजिङ प्रस्थान गर्नेछ भने भोलिपल्ट बेजिङको स्थानीय समयानुसार अपराह्न ४:३० बजे काठमाडौँका लागि प्रस्थान गर्नेछ । सोही दिन राति ८:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्नेछ ।
    
निगमका प्रवक्ता श्रेष्ठले सरकारी निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयका आधारमा नेपालीका लागि अत्यावश्यक एवं महत्वपूर्ण कोभिड-१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज प्रयोग गरिने निगमको निर्णय भएको र सोहीअनुरुप आन्तरिक गृहकार्य अघि बढेको जानकारी दिए । उनका अनुसार निगमको ए ३३० जहाज काठमाडौँ-बेजिङ-काठमाडौँ उडान कूल ब्लक १२ घण्टा पाँच मिनेट रहनेछ । निगमले कोभिडविरुद्धको खोप लिन पहिलो पटक उडान गर्न लागेको हो ।
    
निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । निगमले अन्तरराष्ट्रिय गन्तव्यमा दुई थान वाइड बडी ए ३२० जहाज र दुई थान न्यारो बडी ए३३० जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ