arrow

कोरोना सङ्क्रमण बढ्यो : सर्वसाधारण सचेत नभए कडाइ गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

देशभित्र नै सङ्क्रमण रहेका कारण स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७७ चैत १० मंगलबार
covid-test-positive-corona.jpg

काठमाडौं । कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभरका विभिन्न मुलुकमा बढ्दै गएको छ । ब्राजिल, विभिन्न युरोपेली मुलुक र भारतमा कोरोना भाइरसको सङ्क्रमण निरन्तर बढ्दै गएको हो ।नेपालमा समेत पछिल्लो एक साता यता सङ्क्रमित हुनेको संख्या बढ्दो छ ।

भारत उच्च सङ्क्रमण हुनेमा विश्वकै तेस्रो स्थानमा पुगिसकेका बेला नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना उच्च भएपछि स्वास्थ्य मन्त्रालयले आम सर्वसाधारणलाई पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । 

भारतमा सङ्क्रमण बढ्दा नेपालमा पनि निश्चित रूपले सङ्क्रमण बढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।सङ्क्रमण बढ्न थालेसँगै मन्त्रालयले भारतसँग जोडिएका सीमा नाका र त्रिभुवन विमानस्थलमा कडाइ गर्न निर्देशन दिएको छ ।

भारतमा सोमबार मात्रै ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।हिजो मात्रै देशभर १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसअघि आइतबार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

चैत १ यता सङ्क्रमण निरन्तर बढ्दै गएको देखिन्छ । चैत १ मा ५३, चैत २ मा ७९, चैत ३ मा ११४, चैत ४ मा ९४, चैत ५ मा १०७, चैत ६ मा १२५, चैत ७ मा ७९, चैत ८ मा ७७ र चैत ९ मा १५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

के छ स्वास्थ्य मन्त्रालयको तयारी ?
आइतबार नै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका नागरिकहरूलाई सामाजिक दुरी, स्यानिटाइजरको प्रयोग गर्ने र पटक पटक साबुन पानीले हात धुने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ ।
मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरू नगर्न समेत निर्देशन दिएको छ ।

नाकामा कडाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र खास गरी भारतसँग जोडिएका नाकाबाट भित्रिने मानिसहरूको हकमा कडाइ गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको सूचना अनुरूप गृह मन्त्रालयले भारतसँगका सबै खुला नाकामा कडाइ गर्न आफू मातहतका संयन्त्रहरूलाई निर्देशन दिइसकेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नाकाबाट भित्रिने हरेक मानिसको अभिलेख राखिने बताएका छन् ।
त्यस्तै, नेपाल भित्रिने प्रत्येक मानिसको स्वास्थ्य चेक जाँच गर्ने र सो क्रममा कोरोना भाइरसको सङ्क्रमणसँग मिल्ने लक्षण देखिएमा अनिवार्य क्वारेनटिन बस्नुपर्ने र कोरोना परीक्षण गरिने भएको छ ।

कुनै पनि लक्षण नदेखिएका मानिसहरूले पनि घरमै क्वारेनटिन बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लामा अनिवार्य रूपमा मास्क लगाउन र स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गराउन जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

थप कडाइ हुनसक्ने
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले मानिसहरूको व्यवहार अनुसार थप कडाइ गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगर्दा सङ्क्रमण बढ्न सक्छ । यसो हुँदा मन्त्रालयले नै कडा कदम चाल्न सक्ने उनको भनाइ छ ।

सङ्क्रमण बढ्न सक्ने
सर्वसाधारणले पछिल्लो समय स्वास्थ्य मापदण्डहरूको प्रवाह कम गरेका कारण कोरोना सङ्क्रमण बढ्ने सम्भावना अत्यधिक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।

अस्पतालहरूमा अहिले पनि कोरोना सङ्क्रमितहरू रहेका कारण देशभित्रै भाइरसले समेत सङ्क्रमण बढाउने उनको भनाइ छ ।

टेकुमा मात्रै गत महिना २९ जना कोरोना सङ्क्रमितको आइसियुमा उपचार भएको र अहिले आइसियुमा सङ्क्रमित रहेको उनले बताए ।

देशबाहिरबाट भित्रिन सक्ने भाइरस सँगसँगै देशभित्र नै सङ्क्रमण रहेका कारण स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

वास्तवमा हरेक व्यक्ति आफै सचेत भएर स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गरेमा मात्रै सङ्क्रमण फैलिनबाट जोगिन सक्ने देखिन्छ ।

तत्काल नै फेरि महामारीले उग्र रूप नलिए पनि सङ्क्रमण फैलिने सम्भावना बढी भएका कारण सबैले सतर्कता अपनाउन डा. बास्तोलाले आग्रह गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ