- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मानव बेचबिखन गर्ने अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त रामशरण पण्डित क्षेत्रीलाई २८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।
साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेका भक्तपुर चाँगुनारायण नगरपालिका-८ जितपुर बस्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री पक्राउ पेका हुन् ।
रामशरणले आर्थिक अवस्था कमजोर भएका दुई जना महिलालाई विभिन्न व्यक्तिहरूसँग भेट गराई भारतको महाराष्ट्रमा हिरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन, बाटोमा लाग्ने सबै खर्च हामीले व्यहोर्छौँ र हिरा ल्याए बापत जनही ६ हजार रुपैयाँका दरले ज्याला दिनेछौँ भनी प्रलोभनमा पारी काठमाडौँ कलङ्कीबाट वीरगन्जको रक्सौल नाका हुँदै मुम्बई पुर्याई कोठी सञ्चालिकाहरूकोमा बेचेका थिए ।
बेचेको दुई महिला लामो समयपछि मुम्बई प्रहरीको सहयोगमा उद्धार भएका थिए । नेपाल फिर्ता भएपछि २०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौँमा जाहेरी पेस गरेको थिए । हालसम्म फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उक्त ब्युरोले जनाएको छ ।