- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। यसपालिको होली पनि घरमै सीमित गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। भारतमा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो। यसै क्रममा प्रशासन कार्यालयले होलीमा सार्वजनिक स्थलमा भीडभाड गर्न नदिने निर्णय गरेको हो।
पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण बढ्न थालेपछि सरकारले आइसोलेसन र क्वारेनटिन व्यवस्थापनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारीले कोरोनाको जोखिम बढेकाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन परिपत्र गरेको जानकारी दिए ।
उनले स्वास्थ्य मापदण्डलाई अनिवार्य लागू गराउन निर्देशन दिएको र नमान्नेलाई सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्न भनिएको जानकारी दिए । जिल्लामा कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बनाइएकाले जिल्लामा सङ्क्रमणको अवस्था हेरेर निर्णय लिन निर्देशन दिइएको बताएका छन् ।
यस्तै, प्रशासनले सार्वजनिक स्थान र सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र भौतिक दुरी कायम गर्न भनेको छ। सार्वजनिक स्थानमा मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ।
ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले यस अघि नै सामूहिक होली नमनाउन आग्रह गरिसकेको छ। होटेल रेस्टुराँ, डान्स क्लब, पार्टीलगायत रात्रिकालीन व्यवसाय सञ्चालनमा जोखिम हेरेर मापदण्ड हेरफेर गर्ने अधिकार प्रशासनलाई दिइएको छ ।