arrow

नेपाल पक्षले प्रश्नसहित स्पष्टीकरण दिँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १२ बिहिबार
nepal-khanal-cpn.jpg

काठमाडौँ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेताले स्पष्टीकरण बुझाउने तयारी गरेका छन्। राजनीतिक रूपमा जवाफ दिन तयार रहेको भन्दै नेपाल सहितका नेताहरूले स्पष्टीकरणको तयारी गरेका हुन्।  नेकपा (एमाले) का ४ नेताले अध्यक्ष केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ राजनीतिक विषयवस्तु बनाई सार्वजनिक रूपमा दिने भएका हुन। पार्टीभित्रको अन्तर–सङ्घर्ष राजनीतिक विषय भएकाले त्यसै अनुसार जवाफ दिने र सँगसँगै अध्यक्ष ओलीलाई प्रश्न पनि गर्ने तयारी उनीहरूले गरेका हुन्।

नेपालसहितका चार नेताहरूले माओवादी केन्द्रसँग पार्टी एकता किन गर्नुभयो ? एमाले विघटन र जबज परित्यागको कागजमा किन हस्ताक्षर गर्नुभयो ? प्रचण्डसँग आधा आधा सरकारको नेतृत्व गर्ने भनेर किन सही गर्नुभयो ? सही गरिसके पछि त्यसको पालना किन गर्नुभएन ? एकीकृत पार्टीको बैठकबाट किन भाग्नुभयो ? संसद् किन विघटन गर्नुभयो ? विघटन असंवैधानिक भनेर अदालतले फैसला गरिसके पछि सार्वजनिक रूपले किन आत्मालोचना गर्नुभएन?

अदालतले एमाले ब्युँताए पछि पार्टीका सम्पूर्ण साङ्गठनिक संरचनाहरूलाई पुरस्थापना गर्न किन मान्नुभएन ? नवौँ महाधिवेशनले निर्माण गरेको विधान मान्न किन तयार नहुनु भएको हो ? आफ्नो नामको जयजयकार गर्न किन लगाउनु भएको हो ? जयजयकार नै गर्नुपर्ने त्यस्तो काम के गर्नुभएको छ ? पार्टी प्रवेश नगरी, सदस्यता पनि प्राप्त नगरेका मान्छेहरू लाई कसरी केन्द्रीय सदस्य नियुक्त गर्नुभयो ? 

पार्टी फुटाएर चुनावमा जाने तपाईँको दुस्साहस प्रतिक्रियावादी हरूलाई चुनाव जिताउने षड्यन्त्र किन गर्दै हुनुहुन्छ ? जस्ता विषय वस्तुलाई समेटेर जवाफ दिने तयारी भइरहेको एक नेताले बताएका छन्। ‘स्पष्टीकरण भनेको राजनीतिक विषय भएकाले त्यसै अनुसारको जवाफ दिने कुरा छ जसरी स्पष्टीकरण मागिएको विषय सार्वजनिक भयो त्यसरी नै जवाफ सार्वजनिक हुनेछ’, नेपाल निकट एक सदस्यले भने।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले पार्टीको हित विपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोमबार स्पष्टीकरण सोधिएको थियो।

त्यसैको जवाफ उनीहरूले सार्वजनिक रूपमा दिने तयारी गरेका हुन्। उनीहरूले पार्टीभित्र किन किचलो आयो अहिलेको परिस्थिति कसले निर्माण गरेको जसमा पार्टी एकताको असफलता, संसद् विघटन र पुनर्स्थापन लगायतका विषय रहने बताइएको छ।

बुधवार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो। मनमैजुस्थित एक नेताको घरमा बसेर उनीहरूले आगामी रणनीतिका विषयमा बृहत् छलफल गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ