arrow

नेपाल पक्षले केन्द्रीय कमिटीको बैठक बोलाउन लिखित निवेदन दिने

भीम रावल संसदीय दलको बैठकमा नजाने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
nepal-khanal-cpn.jpg

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गर्दै स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको माग गर्ने भएको छ। एमालेभित्रै बसेर सङ्घर्ष गर्नु आवाज बुलन्द हुँदै गएपछि नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाउन लिखित रूपमा निवेदन दिने भएको हो।

खनाल–नेपाल समूहको शुक्रवार कलङ्कीमा भएको केन्द्रीय सदस्यहरूको बैठकले २०७५ जेठ २ गतेको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्ने लिखित माग गर्ने निर्णय गरेको हो। त्यसका अलवा संसदीय दलको बैठकमा जाने र नोट अफ डिसेण्ट लेख्ने भएको छ। संसदीय दलको बैठकमा जाने कि नजाने भन्ने मत बाझिएको थियो। सो मतमा जानुपर्ने पक्ष बहुमत भएपछि अहिले उनीहरू संसदीय दलको बैठकमा सहभागी हुने भएका हुन्। 

सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेपाल–खनाल पक्षले एकता अगाडिकै कमिटीको बैठक बोलाउन माग गर्ने भएको हो।

‘हामीले २०७५ जेठ २ गतेको कमिटीहरूको बैठक बोलाउनका लागि लिखित रूपमा माग गर्ने निर्णय गरेका छौँ’, केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने। कमिटीको बैठक राख्नका लागि २५ प्रतिशत सदस्यले लिखित आग्रह गर्नुपर्ने हुन्छ।

केन्द्रीय सदस्य खतिवडाले पार्टी एकतालाई जोगाउनका लागि संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको बताए। केन्द्रीय समिति बैठकपछि  नेपाल–खनाल पक्षधर सांसदहरूको छुट्टै बैठक बसेको थियो। तर भीम रावल भने संसदीय दलको बैठकमा नजाने भएका छन्। उनले संसद् भवन वा सिंहदरबारमा बैठक राखे मात्रै जाने बताउँदै आएका छन्।

तर झलनाथ खनाल र सुरेन्द्र पाण्डे भने संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्। उनीहरूले आफूहरूको असहमति पार्टी प्रवृत्ति र पद्धतिसँग भएको बताउँदै संसदीय दलमा आफ्ना धारणा राख्ने बताएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ