- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सप्तरी। शिशु बालिकालाई जँचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रवार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।
उनका अनुसार सोही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै क्याबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुमसुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लील क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन् ।
डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर क्याबिनभित्र अश्लील क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन् । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।
पीडितले शुक्रवार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छिन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।