arrow

हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १६ सोमबार
parliament-house.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका बेला सरकारले हिउँदे अधिवेशन स्थगित गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री ओलीले अहिलेको अधिवेशन स्थगित गरी बैशाखमा बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन अबको केही दिनमा फिर्ता लिने बताइरहँदा ओलीले चालु अधिवेशन स्थगित गरेर बजेट अधिवेशनको तयारी गर्ने बालुवाटार निकट स्रोतले जनाएको छ ।

सांसदलाई विधेयकहरु नदिई बन्धक बनाएको भन्ने आरोप लागिरहेका बेला आइतबार प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको थियो । दुवै जनाले सांसदलाई सुचारु गर्ने विषयमा छलफल गरेका थिए । उनीहरुबीच संसद् अधिवेशन स्थगित गरेर बजेट अधिवेशन बोलाउने विषयमा पनि छलफल भएको थियो ।

यसअघि तत्कालीन नेकपा (एमाले र माओवादीबीचको पार्टी एकतापछिको पार्टी) मा आफू अप्ठ्यारोमा पर्दै जान थालेपछि ओलीले सभामुख सापकोटासँग संवाद र परामर्शबिनै प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गरिदिएका थिए । त्यसपछि नै प्रधानमन्त्री र सभामुखबीच मनमुटाब शुरु भएको थियो । अहिले पनि सभामुखले समय मागेको धेरै दिनपछि मात्रै ओलीले आइतबार समय दिएका थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसो गर्दा अर्को ३० दिन लम्बिने भएकाले बैशाखको अन्त्यतिर मात्रै बजेट अधिवेशन आह्वान गर्ने र त्यस अधिवेशनमा सरकारले विश्वासको मत लिनु परे पनि जेठ १५ मा आफूले लोकप्रिय बजेट प्रस्तुत गरेर मात्रै बाहिरिने सङ्केत ओलीले दिएका छन् ।

सभामुख सापकोटालाई सोमबारको भेटमा यही संसद्मा विधेयकहरु आउने भएकाले केही दिन संसद् राम्रोसँग सञ्चालन गर्न सहयोग र समन्वय गर्न प्रधानमन्त्रीले आग्रह गरेका थिए । साथ साथै ओलीले निकट दिनमै बजेट अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता रहेको पनि बताएका थिए । प्रधानमन्त्री ओलीले यसअघि पनि बजेट अधिवेशनको समय नजिकिँदै गएको भन्ने अभिव्यक्ति दिएर संसद् स्थगित गर्ने सङ्केत गरेका थिए।

केही दिनअघि बालुवाटारका नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुसँग बजेट अधिवेशन आउन लागेकाले सरकार बजेट निर्माणको तयारी रहेको बताउँदै आफ्नो क्षेत्रको विकासमा आवश्यक पर्ने बजेट माग गर्न भनिएको थियो । 

त्यहाँ सांसदहरुलाई सम्बोधनको क्रममा ओलीले केही दिनमा संसद् बैठक स्थगित हुनसक्ने सम्भावनाबारे सङ्केत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ