arrow

नेपालमा लकडाउन जस्तो बन्दी जीवनबाट मुक्त रहने उपायहरु

logo
डा.दिपक विक्रम थापा क्षेत्री
प्रकाशित २०७७ चैत १६ सोमबार
Omm.jpg

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म २२४८९९३ जना बढीमा कोरोना भाइरसका लागि पीसीआर जाँच भएको छ । जम्मा संक्रमितका आधारमा अमेरिका पहिलो, ब्राजिल र भारत क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्या झन् झन् बढ्दै गइरहेको छ। बीबीसीका अनुसार भारतका विभिन्न १८ वटा राज्यबाट सङ्कलित नमुनाको परीक्षण गर्दा ‘डबल म्युटेन्ट’ अर्थात्‌ उही भाइरसमा एकसाथ दुइवटा परिवर्तन हुने कोरोना भाइरसको नयाँ प्रकार फेला पारिएको अधिकारीहरूले बताएका छन्। विभिन्न क्षेत्रबाट १०७८७ नमुना परीक्षण गरिएकोमा ७३६ जनामा यूके भेरिअन्ट, ३४ जनामा दक्षिण अफ्रिकी र एक जनामा ब्रजिली भेरिअन्ट देखिएको हो।

नेपाल र भारत बीच झण्डै १८५० किमी खुल्ला सिमाना रहेको छ। निस्फिक्री रूपमा दुबै देशका जनताहरू सहजै ओहोरदोहोर गर्न सक्ने हुँदा नेपाल उच्च जोखिममा रहेको छ। हाल भारतका विभिन्न राज्यहरू लककडाउन गरी नियन्त्रणका विभिन्न उपायहरूको खोजी गर्दैगर्दा नेपालमा समेत लक डाउनको हल्ला सुरु भएको छ।

लकडाउन आफैंमा समस्याको समाधान भने पक्कैपनि होइन। लकडाउनका कारण विभिन्न क्षेत्र लगायत हाम्रो दैनिकीमा समेत निकै असहज परिस्थिति निम्तिने गर्दछ। मानव आवत जावतमा नियन्त्रण, उद्योग, कलकारखाना, व्यवसाय, यातायात, शैक्षिक संस्था लगायतका कुराहरुलाई कुशल तथा वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सकेको खण्डमा केही हदसम्म सामाजिक समस्याहरू कम गर्न सकिन्छ।

पछिल्लो तथ्यांकहरु हेर्ने हो भने नेपालमा समेत संक्रमित संख्या दिनदिनै उकालो लागेको देखिन्छ। तसर्थ, सरकार र सरोकार वाला निकायहरुले संवेदनशील भई आगामी रणनीतिहरू तयार पार्न जरुरी देखिन्छ। पहिला भएका र गरेका कार्यहरूको समीक्षा गर्दै आगामी दिनहरुमा सुष्म ढंगबाट अगाडी बढ्न जरुरी छ। टेस्ट पोजेटिभको संख्या दिनानुदिन बढ्दै गएसँगै सरकारले तत्कालै लिनुपर्ने केही कदमहरू

  • सीमा क्षेत्रलाई सिल गरी अन्तर्राष्ट्रिय उडानहरुमा हाइ लेभल प्रोटोकल तयार गरी अवलम्बन गर्ने गराउने।
  • मिलेसम्म ‘वर्क फर्म होम’ लाई प्राथमिकता दिने र सवारी साधनका हकमा जोरविजोर प्रणाली लागू गर्ने।
  • आउँदै गरेका सामूहिक रूपमा मनाइने चाडपर्वहरूलाई केही फरक ढंगबाट मनाउन अपील गर्ने।
  • विद्यालय तथा उच्च शिक्षाहरू दिनपालो अनलाइन र फिजिकल माध्यमबाट सञ्चालन गर्ने । जस्तै १,२,३,४,५ कक्षा एकदिन र दोश्रो दिन ६,७,८,९,१० अर्को दिन । 
  • कोभिड उपचार र जाँचका लागि चाहिने उपकरणहरू सस्तो र सुलभ रूपमा उपलब्ध हुनेगरी अहिलेबाट जोहो गर्न सुरु गर्ने।
  • हालसम्म प्रयोगमा आएका खोपहरुको प्रभावकारिताका आधारमा खरिद प्रक्रिया अगाडि बढाउने र प्राथमिकताका आधारमा द्रुत गतिमा खोप लगाउने कार्य अगाडि बढाउने।
  • हालको परिस्थितिलाई मध्यनजर गर्दै विषेशगरी सम्पूर्ण दल, नेताहरु, कार्यकर्ताहरूले भेला सभा जस्ता कार्यक्रमहरुको आयोजना नगर्ने।
  • कल, कारखानाहरूको हकमा कामदारहरुको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सामग्रीहरूको सहज आपूर्तिका कार्यविधि बनाउने।
  • व्यक्ति व्यक्ति जागरुक भई विश्व स्वास्थ्य संगठनले निर्देशित गरेको सुरक्षाका उपायहरु अवलम्बन गरेको खण्डमा फेरिपनि लकडाउन जस्तो बन्दी जीवन जिउन बाध्य हुनुपर्ने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ