arrow

उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र जेटियुसीसी प्रतिनिधिमण्डलबीच भेटवार्ता

logo
प्रकाशित २०७७ चैत १८ बुधबार
fncci-jtucc.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा सहित महासङ्घका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच आज महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेको उक्त भेटवार्तामा कोभिड महाव्याधिका कारण मुलुकको उद्योग व्यवसाय लगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भएको महासङ्घको सचिवालयले जनाएको छ।

सोही अवसरमा (जेटियुसीसी)का तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रह सहित ज्ञापन पत्र समेत बुझाइएको थियो।

सो अवसरमा जेटियुसीसीका प्रतिनिधिमण्डलको स्वागत गर्दै महासङ्घका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटेल लगायत केही उद्योगहरू अझै तङ्ग्रन नसकेको बताए। मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासङ्घ क्रियाशील रहेको पनि उनले स्पष्ट पारे।

अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासङ्घले जेटियुसीसीसंग नजिकमा रहेर काम गरेको प्रसङ्ग उल्लेख गर्दै मुलुकभित्र श्रम सम्बन्धलाई थप मजवुद बनाउन महासङ्घ र जेटियुसीसी बीचको सहकार्यमा जोड दिए।

अध्यक्ष गोल्छाले अबको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने र करिब २३ लाख थप रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासङ्घले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पार्दै महासङ्घको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासङ्घले खोजेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ