- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसको भदौ २०७८ का लागि तय १४औं महाधिवेशन लक्षित क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी निर्धारित कार्य तालिका प्रभावित बनेको छ ।
कांग्रेसले गत १० चैतसम्मका लागि नयाँ सदस्यता वितरण र नवीकरणको समय निर्धारण गरेको भए पनि सो समय प्रभावित बनेको हो ।
बुधवारसम्म नयाँ सदस्यता वितरण र नवीकरण गरी करिब पाँच लाख क्रियाशील सदस्यताको विवरण अनलाइन प्रणालीमा इन्ट्री भएको कांग्रेसले जनाएको छ । यो सङ्ख्या कांग्रेसले लक्ष्य राखेको भन्दा आधा हो ।
कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकोमा यस पटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएर सोही अनुसार प्रणालीमा इन्ट्री गर्दै आइरहेको छ ।
कांग्रेसले आगामी १४औं महाधिवेशनमा क्रियाशील सदस्यको सङ्ख्या करिब १० लाख पुर्याउने लक्ष्य राख्दै आएको छ ।यसअघि १३औं महाधिवेशनमा देशभर गरी कांग्रेसका ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । कांग्रेसले सो सङ्ख्यालाई दोब्बर बनाउने नीति अनुसार धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य आनन्द ढुंगानाले ६८ जिल्लाको सदस्यता इन्ट्री जारी रहेको र मङ्गलवारसम्म करिब ५ लाखको हाराहारीमा नयाँ तथा पुराना सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री भएको जानकारी दिए ।
‘६८ जिल्लाबाट नयाँ तथा पुराना सदस्यता इन्ट्रीको काम धमाधम भइरहेको छ, यो काममा २ सय ७० जना खटिएका छन्, केही जिल्लाले समय सीमा भित्र विवरण नपठाएपछि पुनः समय थप गर्ने विषयमा छलफल हुँदै छ,’ समितिका सदस्य ढुंगानाले भने ।
समितिका सदस्य प्रदीप पौडेलले सबै जिल्लाबाट सदस्यता सम्बन्धी विवरण प्रणालीमा इन्ट्री भएपछि छानबिनको प्रक्रिया थालिने बताए । कतिपय जिल्लाबाट विवरण नै नआएको भन्दै पौडेलले पुनः समय थप गर्नु पर्ने अवस्था आएको जानकारी दिए ।
पार्टीले तोकेको निर्धारित समय भित्र सदस्यताको विवरण नपठाउने जिल्लाहरूमा सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पा छन् । यी जिल्लाले क्रियाशील सदस्यताको विवरण पठाउन नै सुरु गरेका छैनन् ।
यी मध्ये केही जिल्लामा पार्टी समायोजनको काम नै बाँकी रहेकाले क्रियाशील सदस्यहरूको विवरण पठाउन ढिलाइ भइरहेको छ ।
कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत १० चैतसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गरिसक्ने भनेको थियो । सो मिति नाघेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले २० चैतका लागि केन्द्रीय समितिको बैठकसमेत बोलाइसकेको छ ।
कांग्रेसले अघिल्ला महाधिवेशनमा कागजी प्रक्रियामार्फत सदस्यको विवरण राख्दै आएकोमा यस पटक सदस्यता वितरणलाई अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा इन्ट्री गर्दै आइरहेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि कांग्रेसले केन्द्रीय समिति बैठकबाट समयमै काम नसक्ने जिल्लालाई महाधिवेशनमा भाग लिनबाट रोक्ने निर्णय गरेको थियो ।