- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो २ बजे आह्वान गरिएको कांग्रेस पार्टी कार्यालयका मूख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । उक्त बैठकमा कांग्रेसको भदौमा हुने १४ औं महाधिवेशनका बारेमा छलफल हुनेछ । बैठकमा क्रियाशील सदस्यहरुको तालिकामा ढिलाई हुन जाँदा अन्य तालिका पनि प्रभावित हुने भएकाले तालिकासमेत हेरफेर हुने बुझिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार शुक्रबारको बैठकमा मूलरुपमा महाधिवेशनको तयारीको विषयमा छलफल हुनेछ ।
उनले भने, ‘विभिन्न समितिहरुले काम गरेको अवस्था छ । क्रियाशील छानबिन समितिले कामहरु गरिरहेको छ । कतिपय ठाउँमा समस्याहरु रहेका छन् । जसका कारण थोरै तालिका तलमाथि पर्न सक्छ । कार्यतालिकालाई के कसरी परिमार्जन गर्ने भन्नेबारे छलफल होला ।’
उनका अनुसार पार्टीमा अरु पार्टीबाट आएकाहरुलाई समायोजन गर्नेबारे पनि छलफल हुनेछ । जिल्लामा भएको समायोजनको निर्णयबारे पनि छलफल हुनेछ ।
चैत २० गतेसम्म आइसक्दा महाधिवेशनको १० दिन कार्यतालिका प्रभावित भएकाले यसलाई परिमार्जन गर्नुपर्ने भएकाले यही विषयमै गम्भीर छलफल हुने नेता लेखकले बताए ।
नेता लेखकले महाधिवेशन कुनै हालतले तलमाथि नहुने भन्दै भदौ २० गतेभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने स्पष्ट पारे । उनले भने, ‘यसको कुनै विकल्प छैन । यसमा कसैले पनि आशंका नगरे हुन्छ ।’
कहाँ अल्झियो महाधिवेशनको तयारीमा, यस्तो छ अहिलेसम्मको अवस्था
महाधिवेशनको प्रारम्भिक चरणमै कांग्रेस अल्झिएको छ । नेता लेखेकले अहिले क्रियाशील सदस्यको नविकरण, नयाँ वितरण गर्ने काम प्रविधियुक्त तवरले अनलाइनमार्फत व्यवस्थित गरिहेको जानकारी दिए ।
अहिलेसम्म पाँच लाख क्रियाशील सदस्यहरु इन्ट्री भइसकेको उनले जानकारी दिए । यो संख्या १३ औं महाधिवेशनमा भएको संख्या नै हो । तर कांग्रेसले १४ औं महाधिवेशनसम्म १० लाख क्रियाशील कार्यकर्ता पुर्याउने लक्ष्य राखेको भए पनि त्यो संख्या पुग्ने सम्भावना कम छ ।
तर थप पाँच लाख बढाउने प्रक्रिया जारी रहेको नेता लेखकले बताए । उनले केही जिल्लाको समस्या चाँडै समाधान गरेर अगाडि बढ्ने जानकारी दिए । उनले भने, ‘नविकरणको जिल्ला सदस्यको जिल्लामा, नयाँ क्रियाशील सदस्यको प्रतिनिधिसभाको कार्यसमितिले इन्ट्री गरेपछि प्रत्येक वडामा त्यसको प्रतिलिपि पठाउनु पर्छ । अनि नाम छुट्यो कि तलमाथि पर्यो कि भनेर पुनः परीक्षण गरिन्छ । क्रियाशील सदस्यको व्यवस्थापनलाई अन्तिम अन्तिम चरणमा पुर्याउँदै छौं ।’
उनका अनुसार अझै १८ जिल्लामा समस्या देखिएको छ । ७–८ जिल्लामा ढिलो गतिमा काम भइरहेको छ । बाँकी जिल्लाको काम सकिने क्रममा छ ।