arrow

चरम गरिबिको दुखान्त दृश्य : उपचार खर्च नहुँदा वीर अस्पतालको पेटीमै बास

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत ३० सोमबार
mugu-mainmati-bhandari.jpg

मुगु । मिर्गौलाको उपचार गर्न काठमाडौँको वीर अस्पताल पुगेका छाँयानाथ रारा नगरपालिका-४ का एक दम्पती आर्थिक अभावले वीर अस्पतालको पेटीमै रात कटाउने गरेका छन् ।

छाँयानाथ रारा नगरपालिका-४ भामवाडा गाउँ कि ४४ बर्षिया मैनमति भण्डारी लामो समय देखि बिरामी भएकी थिइन । मैनामतीलाई पति बाँचबहादुर भण्डारीले बेला बेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लिने गरेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मिर्गौलामा समस्या भएको भनी काठमाडौँ रेफर गरेपछि दुई पटक उपचारका लागी काठमाडौँ पुगेका भण्डारी औषधी गदै गर्दा आफूसँग भएको सबै पैसा सकिएपछि परिवारको उपचार गर्न कसैबाट सहयोग मिल्ने र श्रीमतीले नयाँ जीवन पाउने आसमा अस्पतालको पेटिमै रात कटाउने गरेका हुन ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मिर्गौलामा समस्या भएको भनी काठमाडौँ रेफर गरेपछि पत्नीको उपचार गर्न भण्डारीले गाउँको महिला समूहबाट १ लाख ऋण निकालेर मङ्सिरमा काठमाडौँको वीर अस्पतालमा चेकजाँच पुगेका थिए ।

वीर अस्पतालमा डाक्टरले मैनमतिको मिर्गौलाको अप्रशेन गर्नु पर्ने भनेपछि ऋण निकालेको एक लाख रुपैयाँ मङ्सिरमै सकिएको थियो । पुन डाक्टरले दोस्रो पटक चेक जाँच गर्न आउन भनेपछि फागुनमा वीर अस्पताल पुगेका मैनमतिको एक मिर्गौलाले काम गर्न छाडेको र अर्कोले आधा मात्र काम गर्ने र त्यसको पनि अप्रशेन गर्नु पर्ने भनेपछि आर्थिक अभावका कारण होटेलमा बस्ने खर्च नभई वीर अस्पतालको पेटीमा रात कटाउन बाध्य भएको मोबाइलबाट रुँदै मैनामतिका पति बाँचबहादुरले भने घरमा तिन जना साना छोराछोरी सहित बुढी आमा छन् ।

कमाई गर्ने एक मात्र आफू भएकाले घरबाट पैसो जम्मा पारेर पठाउने कोही छैन,बेच्ने जग्गा जमिन समेत छैन, अर्काको ज्याला मजदुरी गरेर घर परिवारलाई एक सरो लुगाफाटो र बिहान बेलुका छाक टार्न समेत आफूलाई अहिले सम्म धौ धौ पर्ने गरेको छ । पत्नीलाई काठमाडौँ उपचार गर्न भनेर ल्याएको दुई पटक भई सक्यो काठमाडौँ चिनेको कोही छैन । होटेलमा बस्ने खर्च समेत नहुँदा बिरामीलाई पेटीमा सुताएर रात कटाउने गरेको एक महिना भइसकेको छ ।

फेरी अप्रशेन गर्नका लागी अस्पतालले पैसा जम्मा गर्न भनेको छ अस्पतालले अप्रेसन गर्न लाग्ने खर्च आधा लिने भनेको छ तर अप्रेसन गर्दा लाग्ने औषधी किन्ने समेत पैसो छैन गाउँघरमा सबैलाई गुहारी सकेका रहेछन् । उता गाउँको महिला समूहबाट लिएको एक लाख ऋणको किस्ता महिना महिनामा तिर्नु पर्ने सर्तमा काज गरेका छन् । उक्त किस्ता कसरी तिर्ने भनेर चिन्ता लिएका छन् ।

 सोमबार उनकी पत्नीको अप्रशेन गर्ने भनिएको छ । औषधी किन्ने पैसो समेत रहेन छ । बेला बेला भेट्न आउँदा जहिले पनि दुवै जना अस्पतालको पेटीमा बसेका हुन्छन् । सोमबार अप्रेसन गर्ने भनिएको रहेछ अहिले सम्म उनले औषधी किन्ने पैसो जम्मा गर्न सकेका छैनन् । आइतबार उनलाई भेट्न पुगेकी भामवाडा गाउँ कै स्थानीय पद्मादेवी भामले बताइन ।

काठमाडौँको मुटु मै रहेको वीर अस्पताल कै गेट मै उपचार सहयोगी मनहरूको प्रतीक्षामा बसेको लामो समय भइसक्दा पनि कतैबाट पनि सहयोग पाउन नसकेका यी दम्पतीलाई सोमबारको अप्रेसन गर्न सहयोग पुगोस् भनेर मुगुमा रहेका उनका आफन्तहरूले आइतबार गमगढी बजारमा सहयोग रकम जुटाउन घरदैलो चहारेका छन् ।

सहयोग सङ्कलनको नेतृत्व गरेका सञ्चारकर्मी तथा बिरामीका गाउँले जीवन सेजुवालले भने सहयोगका लागी बजार भरी चहार्दा पनि सहयोग २५ हजार जति उठ्यो । मानिसहरूमा मानवता हराई सकेछ सहयोग माग्दा नाक खुम्च्याउने गर्छन् । हामीले कम्तीमा ५० हजार जति सहयोग जुट्छ की भन्ने अपेक्षा गरेका थियौ तर थोरै रकम जुट्यो सोमबारको अप्रेशन गाह्रो पर्ला जस्तो छ ।

देशमा तीन तहका सरकार बने तर ती सरकार कहिल्यै गरिबहरूका लागी भएनन् काठमाडौँ,सुर्खेतका सरकार टाढाका भए तर घर नजिकको स्थानीय सरकारले पनि यो परिवारको समस्या अहिलेसम्म देखेको छैन । जिल्लामा विभिन्न पाटीका नेता हौ भन्दै चुनावमा भोट हाल्नु होला हाम्रो पाटी आएमा हामीले जितेका यसो गछौ,त्यसो गछौ भन्छन् तर आफ्नो स्वार्थ पुरा भएपछि कोही पनि फर्केर गरिबलाई हेर्दा रहेनछन् । सबै कसरी सम्पत्ति जोडने भन्ने तर्फ लाग्दा रहेछन् ।

जति शासन व्यवस्था फेरिए पनि हामी जनताको शासन कहिल्यै आएन मैनामतीले फोनबाट भनिन पेटी मै बसेको कयौँ दिन भयो कसैले एक चोटि फोन गरेनन्, भेट्न आएनन् आज कताबाट तपाईँको फोन आयो तपाई को हो मैले म पत्रकार हु तपाईँको समाचार लेख्न फोन गरेको भनेपछि उहाँले रुँदै भनिन मलाई बचाउनुस् बाबु म बाच्न चाहन्छ तपाईँका चिने जानेका होलान् । पत्रकारलाई सबैले चिन्छन् मेरो लागी भए पनि एक चोटि सहयोग जुटाई दिनुस् ।

पीडित परिवारलाई कोही सहयोग गर्न चाहनु हुन्छ भने मैनाामतीका पति बाँच बहादुर भण्डारीको मोबाइल नम्बर ९८६५२१८४७८ मा सिधै आफै सम्पर्क गरी भेटेर सहयोग गर्न पनि छिमेकी जीवन सेजुवालले मनकारी मानव रुप भगवान्हरूसँग अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ