arrow

कोरोनाको दोस्रो लहर : कस्तो छ नवलपुरमा तयारी ?

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ चैत ३० सोमबार
nawalpur.jpg

नवलपुर । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि देखा परेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेसँगै जिल्लामा पनि यसको तयारी सुरु गरिएको छ । मध्य विन्दु जिल्ला अस्पतालमा आइतबार १४ जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला बासीमा भने त्रास फैलिएको छ ।

कोरोनाको दोस्रो लहर देखिएसँगै जिल्लामा आफूहरू तयारीमा जुटेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताए । अहिले जिल्लाको भारतसँग जोडिएको एक मात्र नाका त्रिवेणीमा हेल्थ डेस्क राखेर नाकाबाट जिल्ला भित्रिनेहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको चापागाईँले बताए ।

उनका अनुसार नाकामा गरिने स्वास्थ्य परीक्षणमा कोरोनाको लक्षण देखिएका बिरामीलाई तत्काल एन्टिजेन टेस्ट गरिने, कोरोना संक्रमण देखिएमा नजिकको स्वास्थ्य संस्थामा लैजाने व्यवस्था गरिएको छ ।

त्यस्तै भारत लगायत तेस्रो मुलुकबाट आउनेहरूलाई कम्तीमा १० दिन सम्म होम क्वारेनटाइनमा बस्न आग्रह गरिएको र शङ्कास्पद लक्षण भएकालाई तत्काल पालिकाको स्वास्थ्य केन्द्रहरूमा एन्टिजेन टेस्टको व्यवस्था गरिएको चापागाईँले बताए ।

त्यसै गरी स्थानीय तहका स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा यस अगाडि कोरोना संक्रमितलाई उपचारमा राखिएका बेडहरू र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको चापागाईँले बताए । भारत लगायत तेस्रो मुलुक बाट आउनेहरूका लागि क्वारेनटाइनको हकमा अहिले केही निर्णय नगरिएको र होम क्वारेनटाइनमा बस्न आग्रह गरिएको चापागाईँको भनाइ थियो ।

कोरोनाको सुरुको लहरमा कोरोना संक्रमणको दर फैलिए पछि जिल्लाको देव चुलीमा रहेको प्राकृतिक चिकित्सालयलाई अस्थायी कोरोना अस्पताल बनाएर उपचार गरिएको थियो । कोरोनाले सुरुवातमा झै महामारीको रूप लियो भने त्यस्तो अवस्थामा आफूहरू प्राकृतिक चिकित्साको माध्यमबाट संक्रमितको उपचार गर्न तयारी रहेको प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर विनोद पौडेलले बताए । “अहिले त स्थानीय तहहरूमा अस्थायी अस्पताल बनेका छन्, जिल्ला अस्पताल छ, यदि महामारी बढेर असहज भए हामी कोरोना संक्रमित उपचार गर्न तयारी अवस्थामा छौ” डाक्टर पौडेलले भने ।

नवलपुरमा गत फागुन २ गतेबाट मध्य विन्दु जिल्ला अस्पतालमा  पीसीआर परीक्षण गर्न सुरु गरिएको छ ।  गत शुक्रवार सम्म जिल्लामा २५२१ जनामा कोरोना संक्रमण भएको थियो भने २४८४ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म जिल्लामा कोरोना संक्रमणको कारणले ३२ जनाको ज्यान गइसकेको छ । शुक्रवार सम्म जिल्ला ५ जना सक्रिय संक्रमित रहेका र मध्य विन्दु जिल्ला अस्पतालमा आइतबार गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण देखिए पछि जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ८ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ