arrow

कोरोना संक्रमणको भयावह अवस्था रोक्न पूर्व तयारी होस् : कांग्रेस

logo
हाम्राकुरा डेस्क
प्रकाशित २०७७ चैत ३१ मंगलबार
nepali-congress-flag-tree.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमणको भयावह अवस्था आउनबाट रोक्न र त्यसका लागि आवश्यक पूर्व तयारीलाई व्यापक बनाउन सरकारसँग आग्रह गरेको छ । 

मङ्गलवार कांग्रेसको कोभिड-१९ अनुगमन समितिले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको भयावह अवस्थालाई रोक्नका लागि स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गर्न, अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सीमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेनटिनको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो ।

त्यस्तै कनट्र्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाई पीसीआर परीक्षण दायरा व्यापक बनाउन, आम नागरिकमा खोप पुर्‍याउने कार्य योजना बनाउन, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन र अस्पतालमा स्वास्थ्यकर्मीको संख्या कम हुन नदिन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको विकल्प खोज्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । अब फेरी देशले लकडाउन धान्न नसक्ने भन्दै महामारी नियन्त्रणका लागि अन्य विकल्प खोज्न कांग्रेसले सरकारसँग आग्रह गरेको हो । 

विज्ञप्तिमार्फत समितिका संयोजक डा. प्रकाशशरण महतले कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत बनाउनेतर्फसमेत ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

यस्तै कोरोना संक्रमणको बढ्दो महामारीको अवस्थामा स्वास्थ्य सावधानी र भौतिक दूरीको पालना गर्नका लागि आम सर्वसाधारणमासमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ । 

सरकारको उदासीनताकै कारण संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै कांग्रेसले भविष्यमा संक्रमणलाई अझ भयावह हुने अवस्था आउन नदिन बेलैमा सचेत हुनु पर्नेतर्फ कांग्रेसले सरकार र सर्वसाधारण सबैलाई सचेत गराएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ