arrow

युरोपा लिगको सेमिफाइनल समीकरण पूरा, इङ्गलिश दुई क्लब अन्तिम चारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
man-utd-1618538856.jpg

काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समीकरणअनुसार इङ्गलिश क्लबहरु म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी इटालियन क्लब एएस रोमा र स्पेनिश क्लब भिल्लारियल पनि सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलमा युनाइटेडको भिडन्त एएस रोमासँग हुनेछ भने आर्सनलको भिडन्त भिल्लारियलसँग हुनेछ । 

युनाइटेड र ग्रानाडाबीचको खेल 
क्वार्टरफाइनलमा युनाइटेडले स्पेनिश क्लब ग्रानाडालाई हरायो । बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा ग्रानाडालाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ४–० गोल अन्तरको जित निकाल्दै युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।

युनाइटेडले पहिलो लेगमा पनि २–० गोल अन्तरकै जित निकालेको थियो । ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा एडिन्सन काभानीको गोलबाट छैटौं मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा जेसस भालेजुले आत्मघाती गोल गरेपछि युनाईटेड २–० ले विजयी भयो ।

रोमा–आयाक्स

अब युनाइटेडले सेमिफाइनलमा एएस रोमासँग खेल्नेछ । रोमाले आयाक्समाथि समग्रमा ३–२ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

पहिलो लेगमा २–१ को जित निकालेको रोमाले दोस्रो लेगमा बिहीबार राति १–१ गोलको बराबरी खेलेको थियो । 

आर्सनल र स्लाभिया प्रागको खेल
आर्सनलले बिहीबार रातिको खेलमा चेक रिपब्लिकको क्लब स्लाभिया प्रागलाई ४–० गोल अन्तरले पराजित गर्दै समग्रमा ५–१ को जितसहित आर्सनल अन्तिम चारमा पुगेको हो ।

आर्सनलले विरुद्ध पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो लेगमा आर्सनललाई जित दिलाउन एलेक्स्जेन्ड्रा लाकाजेटले दुई गोल गरे । निकोलस पेपे र बोकायो साकाले एक एक गोल थपे ।

भिल्लारियल – डाइनामो जाग्रेब

आर्सनलले सेमिफाइनलमा भिल्लारियलसँग खेल्नेछ । भिल्लारियलले क्वार्टरफाइनलमा डाइनामो जाग्रेबलाई समग्रमा ३–१ गोल अन्तरले हराएर अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बिहीबार रातिको खेलमा भिल्लारियलले घरेलु मैदानमा २–१ गोल अन्तरको जित निकालेको थियो । पहिलो लेगको खेलमा भने डाइनामोको मैदानमा भिल्लारियल १–० गोल अन्तरले विजयी भएको थियो । 

सेमिफाइनलका खेलहरु २९ अप्रिलको राति १२ः४५ बजे हुनेछन् । फाइनल खेल भने मे २६ तारिखको राति १२ः४५ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ