arrow

पवित्र बागेश्वरी मन्दिर नेपालगन्जमा माछापुच्छ्रे बैङ्कको क्युआर कोड सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
mbl-qr-code-nepaljung.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्वयन गर्ने उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैङ्किङ सेवाको पहुँच बिस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैङ्कले नेपालगन्जको पवित्र स्थल बागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बेशाक ३ गते नेपालगन्ज स्थित पवित्र बागेश्वरी मन्दिरमा क्युआर कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैङ्कले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए। साथै उनले क्युआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशि कटौती हुने हुँदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए।

सोही कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्युआर कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैङ्कलाई धन्यवाद दिएका थिए।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले पवित्र धार्मिक स्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्‍याउने माछापुच्छ्रे बैङ्कको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

उक्त औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै माछापुच्छ्रे बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्युआर कोड बारेमा प्रकाश पारे। साथै बाँके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलालले माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको प्रसिद्ध पवित्र स्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्युआर कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैङ्क खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैङ्कसम्म जानु नपर्ने लगायतका थुप्रै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ।

यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्कले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ। बैङ्कले देशका विभिन्न स्थानहरूमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेस्टुरेन्ट, कस्मेटिक पसलहरू, यातायात सेवाहरू लगायतका विभिन्न व्यवसायीहरूलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ।

डिजिटल बैङ्किङ सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैङ्कले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ