arrow

एक महिनामा तीन गुणाले बढे कोरोना सङ्क्रमित

भेन्टिलेटर र आइसियुमा भर्ना हुने गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या बढ्यो

logo
प्रकाशचन्द्र जोशी,
प्रकाशित २०७८ वैशाख ६ सोमबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण अत्यधिक बढ्दै गएको तथ्याङ्कले स्पष्ट पारेको छ । गत महिनाको तुलनामा यो महिनामा झण्डै ३ गुणा बढीले सङ्क्रमण बढेको देखिएको हो ।

चैत ६ गतेदेखि वैशाख ६ गतेसम्म ९ हजार ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । तर, फागुन ६ गतेदेखि चैत ६ गतेसम्म २ हजार ६ सय ८० जनामा मात्रै सङ्क्रमण पुष्टि भएको थियो । 

यो तथ्याङ्क हेर्दा पछिल्लो एक महिनामा तीन गुणा भन्दा बढीले सङ्क्रमण बढेको स्पष्ट देखिएको छ । त्यसअघि, माघ ६ देखि फागुन ६ सम्म ५ हजार ५ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

वैशाख यता झनै बढे सङ्क्रमित
वैशाख १ गतदेखि ६ गतेसम्म मात्रै ३ हजार ६ सय ८९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । चैत महिनाको यही अवधि अर्थात् चैत १ गतेदेखि ६ गतेसम्म ५ सय ७२ जनामा मात्रै संक्रमण पुष्टि भएको थियो ।

चैत महिनाको ६ दिनको तुलनामा वैशाखको ६ दिनमा झण्डै ६ गुणा बढीले सङ्क्रमित बढेका छन् ।  त्यसअघि फागुन १ गतेदेखि ६ गतेसम्ममा मात्रै ६ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

गम्भीर अवस्थाका सङ्क्रमित बढ्दै
आइतवारसम्मको तथ्याङ्क हेर्दा ४६ जना सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २ सय ४६ जना सङ्क्रमित आइसियुमा रहेका छन् । ५ दिन अघि वैशाख १ गतेमा २५ जनामात्रै भेन्टिलेटरमा थिए भने ८० जनाको आइसियुमा उपचार भइरहेको थियो । 

५ दिनमै भेन्टिलेटर र आइसियुमा भर्ना हुने गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या बढेको छ । नेपालमा हालसम्म १ हजार १ सय ६ आइसियु बेड र ४ सय ६१ भेन्टिलेटर मात्रै उपलब्ध छ ।

सङ्क्रमण अझै बढ्ने
अहिले सङ्क्रमणले उचाइ लिन थालेको छ । केही दिनअघि सरकारले असारसम्ममा फेरि सङ्क्रमणले पिक लिने अनुमान गरेको छ । यसको अर्थ अझै निरन्तर सङ्क्रमण बढ्दै जाने देखिन्छ ।

छिमेकी मुलुक भारतमा समेत निरन्तर सङ्क्रमण बढ्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ८ सय १० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

भारतमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि ।प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सङ्क्रमण बढ्ने विज्ञहरूको भनाइ छ । नेपालमा पछिल्लो समय नयाँ भेरियन्ट, खासगरी बेलायती भेरियन्टको सङ्क्रमण बढ्दै गएको छ । 

सङ्क्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पूर्णरुपमा सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ । साथै भिडभाड हुने स्थानहरू बन्द गर्ने तयारीमा समेत सरकार पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ