- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको आन्तरिक कार्यतालिका फेरी परिवर्तन गरेको छ। काँग्रेसले सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत महाधिवेशनको आन्तरिक कार्य तालिका पुनः परिवर्तन गरेको हो।
परिवर्तित कार्यतालिका अनुसार अव क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ बैशाख राति १२ बजेसम्मका लागि पुर्याइएको छ। यसअघि सो मिति गत चैत मसान्तसम्मका लागि निर्धारण गरिएको थियो भने त्यसअघि ११ चैतसम्म तोकिएको थियो।
काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले बैठक मार्फत क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद बढाएर १५ बैशाख राति १२ बजेसम्मका लागि तोकिएको र त्यसपछि स्वतः प्रणाली बन्द हुने जानकारी दिए।
‘क्रियाशील सदस्यता नवीकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन १७ वैशाख ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ।’ बैठकपछि काँग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसै गरी अन्य राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका सदस्यहरूको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा ‘अन्य राजनीतिक दल समायोजन समिति को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम सङ्ख्या नपुगेका) क्रियाशील सदस्यताका फारम १५ वैशाख भित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पुर्याइसक्नु पर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।