- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सोमबार मात्रै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार २ सय २७ पुग्यो । पछिल्लो समय फैलिएको सङ्क्रमणको दोस्रो लहरले बालबालिका र युवा वर्ग धेरै प्रभावित भएको तथ्याङ्कले देखाउँछ । चिकित्सकहरुका अनुसार यो चरणमा फैलिएको सङ्क्रमणको जोखिम भने सबै उमेर समूहलाई उत्तिकै छ ।
कोरोना सङ्क्रमणको महामारी फैलिएको भन्दै सरकारले सोमबार मात्रै मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर शहरी क्षेत्रका विद्यालयदेखि पार्टी प्यालेसहरूसमेत बन्द गर्ने निर्णय गर्यो । सङ्क्रमणको बढ्दो खतरा रहेकाले के गर्ने के नगर्ने भन्ने विषयमा पनि सरकारले सोही बैठकमार्फत मापदण्ड तोक्यो । त्यतीमात्रै होइन २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय नै भयो ।
तर, सरकारले आफैंले बनाएको मापदण्ड एक दिन नबित्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै उल्लङ्घन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले बालुवाटारमा मङ्गलवार चितवनको माडी पठाउन तयार गरिएको राम, सिता, लक्ष्मण र हनुमानका मूर्तिलाई ठुलो भीडका बीच पूजाआजा गरेका हुन् ।
प्रधानमन्त्रीको यो बालुवाटारको पूजाआजाले कोभिड-१९ को दोस्रो लहर रोक्न स्वास्थ्य मापदण्ड अपनाउने बारेमा आफैंले गरेको निर्णयलाई बालुवाटारको पर्खाल भित्रैबाट धज्जी उडाएको देखिन्छ । सोमबारको मन्त्रीपरिषद्मार्फत सरकारले पार्टी, उत्सव, भेला, सभा सम्मेलन गर्न मापदण्ड तोकेको थियो ।
सो पूजाआजा कार्यक्रममा सयौंको संख्यामा सहभागीहरू रहेको तस्बिरबाट नै देखिन्छ । प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसमेत पूजाआजामा सहभागी छिन् ।
यसैगरी एमाले नेता सुवास नेम्बाङ, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकाल लगायत सहभागी छन् ।
बालुवाटारमा वैदिक अनुष्ठानसहितको पूजा सम्पन्न गरेर प्रधानमन्त्री ओलीले भगवानका मूर्तिहरू स्वस्ति वाचनसहित हस्तान्तरण गरेका हुन् । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्याली त्यसपछि चितवनतर्फ अघि बढेको हो । सो क्रममा प्रधानमन्त्री ओलीले रथलाई बिदाइ गर्दा झनै धेरै सहभागीहरू उपस्थित भएका थिए ।
मूर्तिहरू लिएर गएको रथ चितवनको देवघाट हुँदै बुधवार बिहान माडीको अयोध्यापुरी पुर्याइने कार्यक्रम रहेको बताइन्छ ।