- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भव्य पूजाआजा गरेपछि भगवान् राम, सिता, लक्ष्मण र हनुमानको मूर्ति राष्ट्रपति कार्यालय शितलनिवास हुँदै रथयात्रासहित चितवन हिँडाइएको छ । पाँच सय वटा सवारी साधनसहित कलश यात्रा तथा शोभा यात्रा गराएर रथलाई नागढुंगा पुर्याइएको हो । नागढुंगाबाट भगवानका मुर्तिहरु गाडीमा नै राखेर देवघाटस्थित गलेश्वर आश्रममा लगिने छ ।
शोभा यात्रालाई साँझ देवघाट क्षेत्र विकास समितिले भव्य स्वागत गर्ने कार्यक्रम छ। काठमाडौँबाट टोलीमा आउनेसहित गरेर आठ सय जनालाई खान र बस्नका लागि देवघाटमा व्यवस्था गरिएको छ। यसै गरी बुधवार बिहान देवघाटका विभिन्न पीठाधीशहरूको उपस्थितिमा मूर्तिको जलाभिशेष गरेपछि फेरी कलश यात्रासहितको मूर्तिलाई माडी लगिने छ।
माडीको अयोध्यापुरीस्थित अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका अध्यक्ष नारद मुनी पौडेलले माडीस्थित अयोध्या धाममा मङ्गलवारबाट नै भव्य पूजाआजा सुरु गरिएको जानकारी दिए । उनले काठमाडौँबाट हिँडाइएका मूर्तिसहितका कलश यात्री तथा शोभा यात्रामा सहभागीहरूको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू बनाएर व्यवस्थापनको तयारी गरिएको जानकारी दिए ।
अध्यक्ष पौडेलले पाँच सय वटा सवारी साधनमा आउने र माडीका स्थानीय गरी बुधवार माडीमा १० हजार भन्दा बढी सहभागी हुने आङ्कलन गरिएको बताए । ‘काठमाडौँबाट कलश यात्रासहित पाँच सय सवारी साधन हिँडेको खबर आएको छ, ती गाडीमा आउने र माडीका स्थानीयसहित बुधवार रथ यात्रा माडी आइपुग्दा १० हजार व्यक्ति सहभागी हुने आङ्कलन गरेका छौँ,’ माडीको अयोध्यापुरीस्थित अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका अध्यक्ष पौडेलले भने ।
उनका अनुसार बुधवार माडी पुर्याइएपछि भगवान् राम, सिता, लक्ष्मण तथा हनुमानका मूर्तिलाई माडीको गोद्धक धामस्थित परशुराम कुण्डको जलले अभिशेष गरिने कार्यक्रम छ । त्यसपछि भव्य पूजाआजासहित मूर्तिको अनावरण गर्ने कार्यक्रम तय गरिएको छ । मूर्ति अनावरण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र पर्यटन मन्त्री भानुभक्त ढकाल सहभागी हुने बताइएको छ ।
काठमाडौँबाट लगिएका मूर्ति राख्न अयोध्यापुरीमा हाल अस्थायी मन्दिर निर्माण गरिएको छ। यस्तै स्थायी रूपमा मन्दिर निर्माण गर्नका लागि एक सय बिगाहा जग्गा छुटाइसकिएको छ ।
प्रधानमन्त्री ओलीले गत वर्षको २९ असारमा बालुवाटारमा मनाइएको २०७औँ भानु जयन्तीको कार्यक्रममा रामको जन्मभूमि भारतको अयोध्यामा नभएर चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दाबी गरेका थिए। त्यस लगत्तै उनले माडीका स्थानीय जनप्रतिनिधिलाई काठमाडौँ बोलाएर अयोध्यापुरीमा राम मन्दिर बनाउन निर्देशन दिएका थिए।
कोरोना सङ्क्रमणको महामारी फैलिएको भन्दै सरकारले सोमबार मात्रै मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर शहरी क्षेत्रका विद्यालयदेखि पार्टी प्यालेसहरूसमेत बन्द गर्ने निर्णय गरेको थियो भने २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो ।
तर, सरकारले आफैँले बनाएको मापदण्ड एक दिन नबित्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाटै उल्लङ्घन गरिएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आलोचना गरिएको छ ।
बालुवाटारमा वैदिक अनुष्ठानसहितको पूजा सम्पन्न गरेर प्रधानमन्त्री ओलीले भगवान्का मूर्तिहरू स्वस्ति वाचनसहित हस्तान्तरण गरेका थिए ।