arrow

नेपाल पक्षभित्र मत विभाजित : खनाल, रावल र खतिवडा नयाँ दल गठन गर्ने पक्षमा

सांसदहरूले भने, माओवादी केन्द्र पार्टी विधिमा सञ्चालन नभएको र नेपाल समूहभित्र पनि खेल्न खोज्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख ८ बुधबार
bhim_raul.JPG

काठमाडौँ। नेकपा एमालेभित्र माधव नेपाल समूहका नेताहरू पार्टी विभाजन गर्नु हुन्छ र गर्नुहुन्न भन्ने पक्षमा विभाजित भएका छन्। बानेश्वर स्थित अर्याल होटेलमा बसेको सांसदहरूको बैठकमा माधव नेपाल समूहका झलनाथ खनाल, भीम रावल, झपट रावल, विरोध खतिवडा लगायतका ६ जनाले पार्टी विभाजन गरेर जानुपर्ने ओलीसँगै बसेर राजनीति गर्न नसकिने बताएका थिए।

तर घनश्याम भुसाल, गणेश पहाडी, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री लगायतका सांसदहरूले पार्टी विभाजन गर्न नहुने बताएका थिए। उनीहरूले पार्टीभित्रको विवादलाई अन्त सङ्घर्ष गरेरै टुङ्ग्याउनु पर्ने बताउँदै खनाल, रावल र खतिवडाको सशक्त प्रतिवाद गरेका थिए। पार्टी विभाजन गर्नु हुँदैन भन्ने पक्षमा सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार पनि रहेका थिए।

ओलीले मङ्गलवार खनाल लगायतका २७ जना सांसदलाई पार्टी गतिविधि गरिरहेको आरोप सहित दुई दिनभित्र स्पष्टीकरण दिन आग्रह गरेपछि नेपालले सांसदहरूको बैठक राखेका थिए। उनीहरूले सो बैठकमा पार्टी विभाजनमा गए नेपालबाट कम्युनिस्ट आन्दोलन नै समाप्त हुने धारणा राखेको स्रोतको दाबी छ।

नेपाल पक्षको अधिकांश सांसदहरूले पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेका थिए। बुधवार बिहान नेपाल पक्षका सांसदहरूले नयाँ दल गठन गरेर जान नहुने एमालेभित्रै बसेर अन्तर सङ्घर्ष गर्नुपर्ने सुझाव दिँदै गर्दा रावलले ओलीसँग मिल्न सक्ने आधार समाप्त भएको सुनाएका थिए।

त्यसमा खनाल र खतिवडाले साथ दिएको स्रोतको दाबी छ। अन्य सांसदहरूले एमालेभित्र सबैको रगत पसिना बगेको छ त्यहीभित्र सङ्घर्ष गरे मात्रै उपलब्धि हुन्छ बाहिर बसेर केही हुँदैन नयाँ दल खोलेर पनि लडाइ वार कि पार हुने होइन, एमाले अध्यक्ष ओलीले फागुन २८ जे निर्णय गरेको त्यो निर्णयको देशव्यापी भण्डाफोर गर्नु नै उपयुक्त हुने धारणा राखेका थिए।

तर बैठकमा नेपाल स्वयं र सुरेन्द्र पाण्डे भने मौन बसेका थिए। पाण्डेले भने साथीहरूको धारणा सुनौँ न भनेर रावललाई सङ्केत गरेको भए पनि रावलले पार्टी सिद्ध्याउन ओली नै लागेको त्यसबाट कम्युनिस्ट आन्दोलनलाई पुरै क्षति भएको तर्क गरे पनि अन्य सांसदहरूले अहिले त्यसो गरिए झन् क्षति हुने बताएका थिए। 
सांसदहरूको बैठकपछि स्थायी कमिटीको बैठक बसेको थियो। स्थायी कमिटी बैठकमा घनश्याम भुसाल लगायतका नेताहरूले सांसदहरूबाट पार्टी विभाजन गरेर जान नहुने धारणा राखेको विफ्रिङ गरेका थिए। ‘अधिकांश सांसदहरूले नयाँ दल गठन गर्ने विषयमा असहमति जनाउनु भएको छ पार्टीभित्रै अन्तर सङ्घर्ष गर्नुपर्ने धारणा राख्नु भएको छ’, भुसालले स्थायी कमिटी बैठकमा भनेका थिए।

सांसदहरूले एकमत भएरै पार्टी एकताको पक्षमा बोलेका थिए। कतिपय सांसदहरूले माओवादी केन्द्र पार्टी विधिमा सञ्चालन नभएको नेताहरूको पनि कुनै विश्वास नभएको र उनीहरूले एमालेभित्रकै नेपाल समूहभित्र पनि खेल्न खोजेको भन्दै माओवादीसँगको एकता सम्भव नभएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ