arrow

आन्तरिक द्वन्द्वमा एमाले

माधव नेपाल पक्षलाई कारबाही गर्न कसले रोक्यो ओलीलाई ?

ईश्वर पोखरेलको मन किन भयो अमिलो ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख १२ आइतबार
uml-meet-oli-baluwatar.jpg

काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका आइतबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्माले ओलीले पार्टीको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटी बैठक राखे। दुवै बैठकमा माधव नेपाल पक्षका नेताहरूलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल गरे पनि ओलीले कारबाही नगरी बैठक टुङ्ग्याए।

आइतबार बिहानैदेखि नेपाल पक्षका नेताहरूलाई पार्टीबाट हटाउने निर्णय गर्न लागिएको प्रचार गराइएको थियो । बैठकमा कारबाहीको विषयले प्रवेश त पायो तर निर्णय भने भएन । स्थायी कमिटीको बैठकमा सरकारको विरुद्ध अविश्वासको प्रस्ताव आउन सक्ने र सरकार ढल्ने भएपछि कारबाहीको कुनै अर्थ नहुने भन्दै कारबाही बारे विवाद उत्पन्न भएको थियो।

खास गरी सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ र प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार विष्णु रिमालले समेत कारबाहीबारे तत्कालै निर्णय गर्न नहुने बताएपछि प्रधानमन्त्री ओली हच्केका थिए । तर ईश्वर पोखरेल लगायतका नेताहरूले कारबाही गरेर अघि बढ्नु पर्ने  प्रस्ताव राखेका थिए।

स्थायी कमिटीको बैठकमा मत बँझिएपछि ओलीले नेपाल पक्षका नेताहरू कर्णाली कोरिडोरको पथमा लागेको भन्दै व्यङ्ग्य गरेका थिए। ‘उहाँहरू कर्णाली कोरिडोरतर्फ लाग्नुभएको छ, कुन दिन राजधानी र अन्य प्रदेशमा प्रवेश गर्नुहुन्छ हेरौँ अनि त्यसपछि निर्णय गरौला’, ओलीले बैठकमा भनेका थिए।

ओलीले बैठकमा नेपाल पक्षलाई कारबाही रोक्ने बताइरहँदा ईश्वर पोखरेल र उनलाई समर्थन गर्ने नेताहरूको मन भने अमिलो भएको थियो। ‘आइतबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा नेपाल समूहका नेताहरूलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारेमा विवाद उत्पन्न भएको थियो त्यस कारण कारबाही प्रक्रिया रोकिएको हो’, बालुवाटार निकट स्रोतले भन्यो। 

ओलीले नै अहिले कारबाहीको विषयमा कुराकानी नगरौँ भन्दै उनीहरूको विषयलाई हेरेर कारबाहीको प्रक्रिया अघि बढाउला भन्दै स्थगन गरेका थिए। महाधिवेशन आयोजक कमिटीको बैठक बस्नु अघि स्थायी कमिटीको बैठकमा कतिपय नेताहरूले कर्णाली प्रदेशजस्तै केन्द्रमा पनि नेपाल पक्षहरू फ्लोर क्रस गर्ने सूचना आएको भन्दै कारबाही गरेर अघि बढ्नुपर्ने बताएका थिए। तर त्यसमा केही नेताहरूले भने सरकार नै ढाल्ने भएपछि र अर्को पार्टी नै गठन गर्ने भए कारबाही गर्नु र नगर्नुको कुनै अर्थ नहुने बताएका थिए। 

ओलीले नेपाल पक्षमाथिको कारबाही प्रक्रिया तत्काललाई रोकेपछि बैठक स्थलबाट सिधै उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री कार्यालय आयोजना भइरहेको कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सहभागी भएका थिए भने सुवास नेम्वाङ भने बालुवाटारमै बसेका थिए । त्यसै गरी रामबहादुर थापा भने बैठक छाडेर सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित सुरक्षा समितिको बैठकमा सहभागी भएका थिए। आइतबारको बैठकमा गृहमन्त्री थापा लामो समय बैठकमा बसेका थिएनन् ।  

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको भन्दै ६ वैशाखमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपाल सहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए। त्यसमध्ये सबै जनाले स्पष्टीकरण बुझाइसकेका छन् । ओलीले सांसद पदसमेत बाँकी नरहने गरी पार्टीबाट र सांसद पदबाट हटाउने तयारी गरेको भए पनि अहिलेलाई स्थगन गरेका छन् । नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ। उनीहरूलाई नै कारबाही गर्ने उद्देश्यका साथ ओलीले आइतबार आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेका थिए। 

बैठकले कर्णालीमा जस्तै विभिन्न प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बारेमा पनि छलफल भएको थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हाम्रै पार्टीभित्रका साथीहरूबाट अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको जानकारी आएको बताए। ‘ कर्णालीजस्तै विभिन्न प्रदेशमा त्यसको तयारी भएको जानकारी पाएका छौँ, प्रवक्ता ज्ञवालीले भने । तर बैठकमा विवाद आएपछि आइतबारको बैठकबाट कारबाही गर्न पछि हटेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ