arrow

गण्डकी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
prithivi-subba-krishnachandra-nepali.jpg

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।  गण्डकी प्रदेशको प्रदेश सभाको सोमबारको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । उनी प्रस्तावित मुख्यमन्त्रीसमेत हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमलाई मुख्यमन्त्री गुरुङले साथ दिएकाले उनका विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको नेपालीले भनेका छन् ।  सत्ता साझेदार दलले समर्थन फिर्ता लिइरहँदा पनि मुख्यमन्त्री संसद फेस गर्नबाट भागेको र  ६ वैशाखका लागि प्रदेशसभाको बैठक बोलाइसकेको अवस्थामा १ वैशाख राति नै अधिवेशन अन्त्य गरिएको भन्दै सोही कारण विशेष अधिवेशन बोलाउनु परेको नेपालीले बताए ।

मुख्यमन्त्री गुरुङविरुद्ध काँग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ प्रदेश सांसदले २ वैशाखमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सो सूचना पाए लगत्तै मुख्यमन्त्री गुरुङले १ वैशाखमा नै रातीको समय पारेर संसद अधिवेशन नै अन्त्य गरेका थिए । त्यसपछि काँग्रेस माओवादीसहितका तीन दलले अविश्वासको प्रस्तावअघि बढाउँदै प्रदेश प्रमुख अमिक शेरचनमार्फत विशेष अधिवेशन माग गरेका थिए ।

सोही पत्रका आधारमा शेरचनले सोमबारका लागि विशेष अधिवेशन बोलाएका हुन् । गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् भने एक सांसद स्वतन्त्र छन् । यसै गरी माओवादीका १२ सांसदमध्ये १ जना सभामुख छन् । काँग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ जना सांसद छन् । जनमोर्चा र राजपाले पनि अविश्वासको प्रस्तावका पक्षमा मत हाल्दा मुख्यमन्त्री गुरुङको विपक्षमा ३१ जना पुग्छन् । तर, जसपाले गुरुङलाई साथ दिएर एक स्वतन्त्र सांसदले पनि उनैलाई सघाउँदा उनको पक्षमा ३० सांसद पुग्छन् भने उनका विरुद्ध सांसदको सङ्ख्या घटेर २९ मा आइपुग्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ