arrow

दीपक मनाङे लगायत दुई सांसद सम्पर्कविहीन भएपछि मुख्यमन्त्री गुरुङको जोगियो पद

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
chifminister-subba-gurung.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तत्कालका लागि जोगिएको छ । प्रदेशसभामा प्रस्तुत मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने समयमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे सम्पर्कविहीन भएपछि मुख्यमन्त्री गुरुङको पद तत्कालका लागि जोगिएको हो । दुई सांसद सम्पर्कविहीन भएको जानकारी पाए लगत्तै प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

सभामुख  नेत्रनाथ अधिकारीले जनमोर्चाको संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चित कालका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका तीन सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधवार नै प्रदेशसभामा पत्र दिएकी थिइन् ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् ।

यसैबिच बेपत्ता भनिएका सांसद शाह उपचारका लागि अस्पतालमा भर्ना भएको बुझिएको छ । उनका स्वकीय सचिव मिलन हमालले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार सांसद शाह पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसियुमा रहेका छन् ।

उनको स्वास्थ्यमा एक्कासि गम्भीर समस्या देखिएको र मध्यान्ह १२ बजेदेखि अस्पतालमा भर्ना भएको स्वकीय सचिव हमालले जनाएका छन् ।

सांसदहरू एकाएक बेपत्ता हुनु र बिरामी भएको बाहनाबाजी गरिएपछि ठुलै राजनीतिक एवं आर्थिक चलखेलको आशङ्का गरिएको छ । योसँगै मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव फेल हुने आशङ्का समेत उब्जिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ