arrow

मुख्यमन्त्री गुरुङलाई जोगाएका शाही बारे बुझिने, अस्पतालमा बन्दी बनाएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
khim-bikram-1619687086.jpg

गण्डकी । राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिएका थिए ।

जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा सत्यतथ्य बुझ्न पार्टीका तर्फबाट महासचिव मनोज भट्ट पोखरा पुगिसकेको  प्रवक्ता दुर्गा पौडेलले जानकारी दिए ।

यसैबीच आजै पार्टीले वक्तव्य जारी गर्दै गण्डकी प्रदेशका आफ्ना प्रदेशसभा सदस्य शाहीलाई अस्पतालमा बन्दीका रुपमा राखिएको आरोप लगाएको छ । उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सभासद् जाँदा पनि उनलाई भेट गर्न नदिइएको जनाउँदै पार्टीले उनको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

बुधबार गण्डकी प्रदेशसभामा  जनमोर्चाका सचेतक पियारी थापाले मुख्यमन्त्रीका विरुद्ध राखिएको अविश्वास प्रस्तावमा पार्टीले समर्थन गरेका सन्दर्भमा मतदानको परिस्थिति बनेको दिन पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य शाहकिो अवस्था अज्ञात रहेकाले सदनमा उपस्थित हुन नसक्नुभएको भनी उनको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारवाही नचलाउन माग गरेपछि सूचना टाँस गरी सदन बैठक स्थगन गरिएको थियो ।

 शाहीले भने  समाचार र सामाजिक संजाल आएका भ्रामक कुराहरुलाई लिएर आफ्नो धारणा नबनाइदिन आग्रह गरेका छन् ।सांसद शाहीले विहीबार एक विज्ञप्तिमार्फत पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयहरुमा आफ्नो पनि सहभागिता रहेका जनाउँदै उनले पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना भएका थिए । गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि शाही बिरामी हुनुलाई शंकास्पद भनिएको थियो ।

शाहीले विज्ञप्तिमा भनेका छन्, ‘मिति २०७८ बैशाख १५ गते सदनको कार्यसूची बमोजिम मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो । तर म सदनमा जाने भनी तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महसुस गरेको छु । म थप स्वस्थ्य भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको वारेमा स्पष्ट गर्ने नै छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ