arrow

कांग्रेसको क्रियाशील सदस्यता पठाउने ‘सिस्टम क्लोज’

बारा, सिन्धुपाल्चोक र सप्तरीबाट ‘इन्ट्री’ हुनै बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
nc-party-office.png

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यको विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्न थप गरिएको पछिल्लो पटकको समय सकिएपछि ‘सिस्टम क्लोज’ भएको छ । 

कांग्रेसले नयाँ सदस्यता वितरण तथा नवीकरणको विवरण जिल्लाहरूबाट पार्टीले तयार गरेको सफ्टवेयरमा पठाउने काम नसकिएपछि पटक पटक म्याद थप्दै आएको थियो । कांग्रेसले पछिल्लो पटक ६ बैशाखमा अन्तिम पटक म्याद थप गर्दै १५ वैशाख १२ बजे रातीसम्मको अवधि तोकेको थियो । 

तोकिएको समय भित्र वेबसाइटमा ७ लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

जसमध्ये नयाँ सदस्यता ३ लाख ८९ हजार ४५१ जनाले लिएका छन् भने पुरानो सदस्यता ३ लाख ६३ हजार ८९३ जनाले नवीकरण गरेका छन् ।

यो अवधिमा तीन जिल्लाले अझै पनि सिस्टममा सदस्यता सम्बन्धी विवरण पठाउन सुरु नै नगरेको पाइएको छ । बारा, सिन्धुपाल्चोक र सप्तरी जिल्ला कार्यसमितिका क्रियाशील सदस्यताको विवरण भने ‘इन्ट्री’ हुनै बाँकी छ । बारा र सिन्धुपाल्चोकमा नेपालको संविधानअनुसार पार्टीको संरचना समायोजनको प्रक्रियामा नै विवाद छ । सप्तरीमा क्रियाशील सदस्यताको वितरण प्रक्रिया नै ढिला शुरु भएको थियो । यस्तै सोलुखुम्बुबाट समेत केही विवरण आउन काँकी छ । तर इन्ट्री सुरु भइसकेको छ ।

विवरण पठाउन बाँकी जिल्लाले पनि केही समय सिस्टम खुल्ला गर्न माग गरेको र वैशाख भित्रमा नै ती जिल्लाहरुबाट समेत विवरण आउने कांग्रेस मुख्य सचिव पौडेलले जानकारी दिए । उनका अनुसार हालसम्म क्रियाशील सदस्यता सम्बन्धी करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कांग्रेसमा महाधिवेशनका समय सबै भन्दा बढी विवाद यही विषयमा हुने गरेको छ । 

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी जिल्लाको प्रतिवेदन (हार्ड कपी) १७ वैशाख (आज) साँझसम्म केन्द्रीय कार्यालयमा बुझाइ सक्नुपर्ने तालिका निर्धारण गरेको छ । अनलाइन प्रणालीमा आएका विवरणलाई वैधानिक रुपमा पार्टी कार्यालयको कागजातमा छापसहित पठाउन भन्दै यो विधि अपनाइएको हो । 

कांग्रेसले विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता सम्बन्धी विवरण भने अनलाइन प्रणालीमा समावेश गर्न नै बाँकी रहेको बताएको छ । कांग्रेस पार्टी कार्यालयका अनुसार करिब ३० हजार क्रियाशील सदस्य विदेशस्थित जनसम्पर्क समितिबाट समावेश हुने छन । 
कांग्रेसको गते १३ औँ महाधिवेशनमा १८ जनसम्पर्क समितिले भाग लिएका थिए भने ती जनसम्पर्क समितिमा करिब २५ हजार क्रियाशील सदस्यता थिए । अहिले भने जनसम्पर्क समितिको सङ्ख्या बढाएर ३६ पुर्‍याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ