arrow

सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौँ : अध्यक्ष गोल्छा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
shekhar-golchha-fncci.jpg
फाइल तस्बिर : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भए पनि श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

अध्यक्ष गोल्छाले १३२ औ अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवर्द्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए।

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना सङ्क्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चुनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए।

यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित हुनु पर्नेमा जोड दिँदै अध्यक्ष गोल्छाले भने–विश्वभरि नै कोरोना सङ्क्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने सम्भावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महसुस गरेका छौ।

सङ्क्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय सञ्चालनमा सङ्कुचन आउने र यसबाट रोजगारी समेत प्रभावित भई थप सङ्कट थपिने हो कि भन्ने त्रास बढ्न गएको छ।

अध्यक्ष गोल्छाले भने–हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौ। हाम्रो सामु रहेको यो चुनौतीपूर्ण घडीमा सतर्कता पूर्वक जोखिम न्यूनीकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन।

हामी लगानी वृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौ तर उद्योगहरूको विस्तार र लगानी किन बढ्न सकेको छैन, अहिले ७-८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाइन्छ, किन यसो भइरहेको छ, यसको कारण खोज्न जरुरी छ, अध्यक्ष गोल्छाले जिज्ञासा राखे–धेरै जसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैनन्, यसको कारण के हो ?

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आइरहेको छ, यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए।

महामारीबाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हुँदै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सु स्वास्थ्य र सुरक्षाको कामना समेत गरे।

त्यसै गरी महासङ्घको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडी आउने समस्या र सङ्कटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए।

अर्थतन्त्र र उद्योग व्यवसाय चलायमान नहुँदा श्रमजीवी वर्गमा पर्ने प्रभाव कम गर्न हामी सबैले अझ बढी समझदारीका साथ सहकार्य गर्नु पर्नेमा जोड दिँदै रोजगारदाता परिषद्का सभापति संघईले बाँच र बचाउको यो कठिन अवस्थाबाट चाडै मुक्त हुने अपेक्षा गर्दै सबै श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरूको सुस्वास्थ्य र सुरक्षाको कामना गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ