- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना संक्रमित बढ्दै जाँदा आवश्यक तयारीमा भन्दा उद्घाटन र शिलान्यासमा समय बिताएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलको स्थायी कमिटी बैठक बोलाएर आफ्नै ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहेको दल नेकपा एमालेको आइतबार वालुवाटारमा बसेको स्थायी कमिटीको दोस्रो बैठकले कोभिड बिरामीहरुको उपचारका लागि आवश्यक पुर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधीको तत्काल थप प्रवन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निणर्य गरेको हो ।
‘बैठकले बिरामीहरुको उपचारका लागि आवश्यक पुर्वाधार, शय्याहरु, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधीको तत्काल थप प्रवन्ध गर्न र अन्य तयारी तीव्रताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ,’ बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ ।
सरकारको नेतृत्व गरेका प्रधानमन्त्री आफैंले सरकारको ध्यानाकर्षण गराउन बैठक बस्नु हाँस्यास्पद भएको र विश्व नै यस्ता हाँस्यास्पद निणर्यले चकित पर्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन् ।
‘बैठक वालुवाटारमा बस्ने, पार्टी पनि त्यहीबाट चलाउने, सरकार पनि त्यहीबाट चलाउने अनि आफैं प्रधानमन्त्री भएका व्यक्तिले सरकारको ध्यानाकर्षण गराउने भन्ने, यो राष्ट्रिय संकटाको घडीमा सुहाउँदो निर्णय होइन, हाँस्यास्पद विषय हो, विश्व नै चकित पार्ने यस्ता निर्णय कही पनि सुनिदैन,’ राजनीतिक विश्लेषक आचार्यले हाम्राकुरासँग भने ।
उनले कोरोनालाई राजनीतिक दलहरुले सत्ता संघर्षको अस्त्र बनाएको र सत्तासिन दललेसमेत कुर्सी जोगाउने अवसरका रुपमा मात्रै उपयोग गरिरहेको बताए । गत १७ बैशाखमा स्वास्थ्य मन्त्रालयले ‘मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैया उपलब्ध गराउन नसकिने भइसकेको’ भन्दै सर्वसाधारणमा अपिल जारी गरेको थियो । सो विषयलाई लिएर नागरिक स्तरबाटसमेत ‘नागरिकको उपचारमा सरकारले हात उठायो’ भन्दै चर्को आलोचना भएको थियो ।