arrow

महामारीमा ४ सय १७ अस्थायी दरबन्दी थप

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ वैशाख २० सोमबार
pradesh-2-1620049517.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुई सरकारले कोरोना महामारीसँग जुध्न प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ । 

सोमबार मन्त्री परिषद्को सम्पन्न बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १७४, सिराहा, जलेश्वर, मलंगवा, गौर र कलैया अस्पतालका लागि ३२-३२ लहान अस्पतालका लागि २३, र भारदह तथा पोखरिया अस्पतालका लागि १५-१५ दरबन्दी थप गर्ने निर्णय गरेका छन् ।

कोरोना विशेषको लागि थप गरिएको दरबन्दीहरूमा एनेस्थेसियोलोजिष्ट देखी लिएर स्वीपर सम्मको पद रहेका हुन् । थप गरिएका दरबन्दीहरूमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरिएको हो।
 
त्यसै गरी मन्त्रीपरिषद्ले जनकपुरको मणिपालमा निर्माण गर्न लागेको विशेष कोभिड अस्पतालको लागि थप २ सय २७ दरबन्दी स्वीकृत गरेका छन् ।प्रदेश सरकारले मणिपालमा बिस बेड आइसियु सहित एक सय  बेडको विशेष कोभिड अस्पताल निर्माण गर्न लागेका हुन् ।

यसै गरी मन्त्री परिषद्को बैठकले कोरोना महामारी सँग जुध्न प्रदेश सरकारका मन्त्रीहरूलाई जिल्ला – जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत निर्धारण गरेका छन् ।

सप्तरी जिल्लाका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, सिराहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वन मन्त्री राम नरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको छ ।

जिम्मेवारी तोकिएका मन्त्रीहरू सम्बन्धी जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि पुलको रूपमा काम गर्ने भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ