arrow

भारतमा २० हजार बढी नेपालीलाई कोरोना, १७ हजार जना कोरोनामुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
corona-virus-awareness.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघले  भारतमा २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको र अहिलेसम्म कोरोनाका कारण कम्तीमा ७१ जना नेपालीको ज्यान गएको जनाएको छ। १७ हजार भन्दा बढी नेपाली कोरोनामुक्त भएका छन्।

गत साता कोरोना भाइरस संक्रमणका कारण भारतमा थप १० जनासहित विदेशमा ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ । गत साता साउदीमा पनि थप एक जनाको संक्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका  संयोजक डा. सन्जिव सापकोटाका अनुसार दुई दिन अघिसम्ममा भारतसहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

अघिल्लो साता मलेसिया, भारत, कुवेत, यूएई र साउदी अरेबियामा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

सावधानी अपनाउन आग्रह

नेपाल, भारतसहित विश्वका विभिन्न देशमा देखापरेको नयाँ प्रजातिको महामारी अत्यधिक संक्रामक खालको भएकोले विशेष सावधानी अपनाउन स्वास्थ्य समितिले आग्रह गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने लगायतका लक्षण देखा परेमा तत्काल पीसीआर परीक्षण गर्न समितिले सुझाएको छ ।

नयाँ भेरियन्टको कोरोना भएमा परिवारमा सबै संक्रमित हुने अवस्था रहेकोले कुनै लक्षण देखिएमा सेल्फ आइसोलेसनमा बस्न पनि समितिले अनुरोध गरेको छ ।

यस्तै मधुमेह र उच्च रक्तचाप भएका मानिसहरूलाई संक्रमण भइहालेमा अवस्था गम्भीर हुन सक्ने भएकाले आफ्नो स्वास्थ्य र औषधि सेवनमा विशेष ध्यान दिन भन्दै समितिले  पोषणयक्त खानेकुरा खाने, शारीरिक व्यायाम गर्ने,  संक्रमित व्यक्तिहरूले घरमा अक्सिजन नाप्ने मिटर राखी बेलाबेलामा अक्सिजन नाप्दै अक्सिजन लेभल कम भए तुरुन्त स्वास्थ्य विज्ञसँग सल्लाह लिइहाल्न पनि सुझाएको छ ।-जीएनएन
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ