arrow

मुख्य १३ सीमा नाका अझै खुला : एन्टिजेन परीक्षण सीमित मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
pcr-test.jpg
तस्बिर : रासस

काठमाडौँ। सरकारले भारतसँग जोडिएका १३ नाकामा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्दै खुला राख्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन फितलो देखिएको छ।

सीमा नाका हुँदै आएकाहरूमा कोरोना जाँचका लागि गरिने एन्टिजेन परीक्षण सीमित हुँदा यसरी आएका तर लक्षण नदेखिएकाहरूमा समेत सङ्क्रमण बढ्ने देखिएको छ। नाका हुँदै आएकाहरूमा लक्षण देखिएकामा मात्रै एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

सीमा नाका जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका अनुसार भारतबाट आएका जति सबैलाई परीक्षण गर्न सकिएको छैन । एन्टिजेन परीक्षण गर्ने किट र जनशक्तिको अभावमा यो अवस्था आएको हो । 

हाल भारत तर्फ जोडिएका नेपालका मुख्य १३ नाका अझै खुला छन् । ती नाका हुँदै कामका लागि भारत पुगेका नेपालीहरू फर्कने क्रम धमाधम छ । 

सोमबार देशवासीका नाममा सम्बोधन गर्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा नाकामा एन्टिजेन परीक्षण गराएर मात्रै नाका हुँदै आउनेहरूलाई भित्राइने बताएका थिए । 

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार ३ चैत यता हालसम्म विभिन्न नाका हुँदै भारतबाट आएकाहरूमध्ये १६ हजार ५ सय जनामा गरिएको एन्टिजेन परीक्षणमा १५ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

हिजो सोमबार मात्रै कञ्चनपुरको गौरीफन्टा नाका हुँदै आएका ६ सय ७३ जनामा परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने आज मङ्गलवार ९ सय २२ जना सो नाका हुँदै आएकोमा १७ जनामा सङ्क्रमण देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । 

उनका अनुसार गौरिफन्टा नाका हुँदै आएकाहरूलाई कञ्चनपुर र कैलालीको संयुक्त टोलीले चेक जाँच र परीक्षण गर्ने गरेको छ भने भारतबाट आएका जति सबैलाई एन्टिजेन परीक्षण गर्ने किट र जनशक्तिको अभावमा परीक्षण गर्न सकिएको छैन । लक्षण देखिएका र सङ्क्रमण बढी भएका स्थानहरूबाट आएकाहरूलाई बढी केन्द्रित गरेर परीक्षण गर्ने गरिएको छ ।  

पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता १३ सय २५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ सय २० जनामा सङ्क्रमण देखिएको जानकारी दिए । 

पशुपतिनगर, काँकडभिट्टा, जोगवनी, भिठामोड, गौर, वीरगन्ज, कृष्ण नगर, बेलहिया, जमुनाह, गौरीफन्टा, गड्डाचौकी, कुलघाट र झुलाघाट नाका भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका मानिन्छन् । यी १३ वटै मुख्य नाका अहिले खुला छन् । 

हाल भारतबाट दैनिक ४५ सयको हाराहारीमा नेपालीहरू स्वदेश फर्किने गरेका छन् । 

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले मङ्गलवार संसद्को महिला तथा सामाजिक समितिसँगको भर्चुअल बैठकमा सहभागी हुँदै यो तथ्याङ्क बारे जानकारी दिएका हुन् । उनका अनुसार नेपाल फर्कनेहरूमा सबैभन्दा बढी सुदूरपश्चिमका छन् ।

कोरोना सङ्क्रमणको दर बढ्दो क्रममै रहेपछि कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भारतसँग जोडिएका ३५ सीमा नाका मध्ये २२ नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । 

सीसीएमसीको गत शुक्रवार बसेको बैठकले भारतसँग जोडिएका सीमा नाकाबाट आवतजावत बन्द नभएको र सङ्क्रमितको सङ्ख्यासमेत बढ्दै गएको पाइएपछि २२ सीमा नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ