arrow

उपत्यकाको निषेधाज्ञामा कडाइ : घरबाट बाहिर निस्कन रोक्, खाद्य पसल बिहान मात्रै

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
lockdown-ktm-1619673573.jpg

काठमाडौं । उपत्यकामा १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । यस्तै निषेधाज्ञा एक साता थप गर्दै २९ गतेसम्म पुर्‍याइएको छ । मङ्गलवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन पाइने छैन । यस्तै बिहान ७ बजेबाट ९ बजेसम्म मात्रै किराना तथा खाद्य पसल खोल्न पाइने छ । बैठकले यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत गरेको छ । 

यस्तै अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू एक चौथाइ मात्र कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न दिइने निर्णय भएको छ । 

सरकारी कार्यालयका हकमा मन्त्रालयका सचिव वा विभागीय प्रमुखद्धारा जारी गरिएको सवारी पास र परिचय पत्रका आधारमा आवतजावत गर्न दिने निर्णय भएको छ । 

बैङ्क तथा वित्तीय संस्थाहरूले काठमाडौं उपत्यकाका हकमा आफ्नो २५ प्रतिशत शाखा कार्यालय खोल्न पाउने छन् । यस्तै केन्द्रय कार्यालयहरूले २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरेर कार्यालय सञ्चालन गर्न पाउने छन् । 

यसैगरी अत्यावश्यक कार्य, बिरामी कुरुवा, मृत्यु संस्कार, तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने निर्णय भएको छ । 

यस्तै विकास निर्माण कार्यमा आवासीय कामदार राख्नु पर्ने तथा स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने, पत्रकारहरुले सूचना विभागको पासका आधारमा सूचना सङ्कलन गर्न पाउने तथा सूचना विभागको प्रेस पास नभएकाको सञ्चारकर्मी/कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयलाई गराउनु पर्ने छ । 

यसैगरी फुटपाथ व्यापार, कवाडी सङ्कलन लगायत ठेला गाडा तथा साइकल सञ्चालनमा पनि रोक लगाइएको छ । जारी निषेधाज्ञा अझै एक साताका लागि थप गर्दै २९ वैशाखसम्म पुर्‍याउने निर्णय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ