arrow

प्रहरी अस्पतालमा महाराजगंजमा दैनिक १ सय ४० सिलिन्डर अक्सिजन उत्पादन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
police-1620143550.jpg

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा दैनिक १ सय ४० सिलिन्डर अक्सिजन उत्पादन हुन थालेको छ । महाराजगंजमा रहेको प्रहरी अस्पतालमा दैनिक रुपमा प्रतिसिलिन्डर ४६ लिटरका दरले १ सय ४० सिलिन्डर अक्सिजन हुन थालेको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टमबाट सो क्षमतामा अक्सिजन उत्पादन हुन थालेको हो ।

तीन करोड लागतमा युएनओपिएसको सहयोगमा अक्सिजन उत्पादन थालिएको प्रधान कार्यालयले जनाएको छ । सो प्रक्रियाका लागि कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिन्डर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको छ ।

संचालनमा ल्याइएको सो सिस्टमको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार अवलोकन गर्दै निर्माण कम्पनीलाई धन्यवाद दिए । सो क्रममा उनले अस्पतालका विभिन्न विभागहरू, कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका वेड, पिसिआर परीक्षणस्थल लगायतको निरीक्षणसमेत गरे ।

प्रहरी महानिरीक्षक क्षेत्रीले अक्सिजन सिस्टम जडान पछि अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने भन्दै अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र त्यसका लागि प्रहरी प्रधान कार्यालयको पूणर् साथ र सहयोग कायम रहने बताए ।

उनले विरामी र तिनका आफन्तलाई सूचना तथा सुझाव दिने, विरामीको अवस्था बुझ्नको लागि छुट्टै टेलिफोनको व्यवस्था गर्ने, काउन्सिलिङ गर्ने र आफ्नो कर्तव्यप्रति दत्तचित्त भई लाग्नसमेत अस्पतालमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिए ।

सो अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले अस्पतालबाट भए गरेका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ