arrow

हिमाल चढ्दा प्रयोग हुने अक्सिजन सिलिन्डर कोरोना संक्रमितलाई उपयोगी

राष्ट्रिय आविष्कार केन्द्रले थाल्यो संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
mahabir.jpg

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर बढेपछि अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजन अभावलाई केही हदसम्म पूर्ति गर्न राष्ट्रिय आविष्कार केन्द्रले खाली अक्सिजन सिलिन्डर संकलन शुरु गरेको छ । 

आविष्कार केन्द्रका संचालक तथा युवा वैज्ञानिक महावीर पुनले हिमाल चढ्ने र ट्रेकिङ कम्पनीहरुसँग रहेको खाली अक्सिजन सिलिन्डर आविष्कार केन्द्रलाई उपलब्ध गराउन आग्रह गरेका छन् ।

सामाजिक संजालमार्फत पुनले खाली अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गरेको दुई दिनमा करिब ४० वटा सिलिन्डर संकलन भएको उनले जानकारी दिए ।

जम्मा भएको खाली सिलिन्डरमा अक्सिजन भरेर कोरोना संक्रमितलाई दिने बताए पनि प्राप्त भएका सिलिन्डरमा रेगुलेटरको अभाव भएको सुनाए । उनले भने,‘केही सिलिन्डरहरु संकलन हुँदैछ तर रेगुलेटर नहुँदा समस्या भएको छ ।’

हिमाल चढ्नेहरुले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरहरुमा चार केजी अक्सिजन जाने र दुई समयमा अक्सिजन दिंदा ६ घण्टा जति पुग्ने उनले बताए ।

उनले सामाजिक संजालमा लेखेका छन् सगरमाथा सफा गर्ने टोलीहरुले जम्मा गरेका खाली सिलिन्डरहरु कहिं कसैले जम्मा गरेर राख्नु भएको छ भने  सम्पर्क राख्नु होला। साथै ट्रेकिङ्ग कम्पनीहरुसंग त्यस्ता खाली सिलिन्डरहरु छन् भने पनि उपलब्ध गराउनु होला। ति खाली सिलिन्डरहरु राष्ट्रिय आविष्कार केन्द्रलाई विक्री गरेपनि अथवा सापटी दिए पनि हुन्छ । हामीले ति सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराउने छौं । नेपालमा अक्सिजनको खाली  सिलिन्डरहरुको अत्यन्तै अभाव भएकोले यो अनुरोध गरिएको हो।’

त्यस्तै कोरोना संक्रमितका लागि अक्सिजन उपलब्ध गराउनेबारे आफूहरुले अन्य विकल्पहरु पनि सोचिरहेको जानकारी दिए । उनले कसैसँग खाली सिलिन्डर भए अक्सिजन भर्नका लागि आविष्कार केन्द्रले संयोजन गर्ने बताए ।  खाली सिलिन्डरहरु संकलन गरेर अक्सिजन प्लान्टहरुमा लगेर अक्सिजन भर्ने र वितरण गर्न आफूहरु तयार रहेको जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ