arrow

कर तिर्ने समय थप गरिदिन महासङ्घको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
fncci-building-123.jpeg
तस्बिर : नेपाल उद्योग वाणिज्य महासङ्घ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को नयाँ भेरियण्टको सङ्क्रमण रोकथामका लागि मुलुकको झन्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ।

महासङ्घले सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो।

कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासङ्घले आग्रह गरेको हो।

अघिल्लो वर्षमा भएको लामो लकडाउन पछि तङ्ग्रिन सुरु गरेको व्यापार व्यवसाय कोभिडको दोस्रो लहरका कारण पुनः जटिल अवस्थामा आइपुगेको छ। सार्वजनिक यातायातको सञ्चालन नभएको लगायतका कारणबाट उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् भने चलेका पनि अत्यन्त कम क्षमतामा सञ्चालित छन्।

महामारी कति लामो समय जान्छ यसै भन्न सक्ने अवस्था छैन। बन्दाबन्दीले अर्थतन्त्र चलायमान बन्न नसक्दा यससँग प्रत्यक्ष जोडिएका साना ठुला सबै तहका उद्योगी व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरू लगायत आम सर्वसाधारणको दैनिक जीवनयापन अत्यन्त कठिन बन्दै जाने यथार्थतालाई समयमै मनन गरी सरकारबाट उचित नीति सहितको सहयोग हुन समेत महासङ्घले अपिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ