- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारत सरकारले जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा जलविद्युत प्लान्टको पुनर्स्थापना गरेको छ । भारतले २ करोड ६३ लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा प्लान्टको पुनर्स्थापना गरिएको हो ।
पुनर्स्थापना गरिएको साना जलविद्युत प्लान्टको बुधवार भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत् प्राधिकरण, जुम्लाले भर्चुअल माध्यममार्फत उद्घाटन गरे ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा अवस्थित २०० किलोवाट विद्युत् उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत् प्राधिकरणले सन् १९८३ मा गरेको हो । प्राकृतिक विपद्का कारण उक्त प्लान्टमा क्षति पुगेको थियो ।
उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनर्स्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनर्स्थापना गरिएको हो । जिल्लाको चन्दननाथ नगरपालिकाका करिब २० हजार मानिसहरू यस प्लान्टबाट लाभान्वित हुनेछन् ।
भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सम्पन्न गरिसकेको छ जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरू प्रदेश नं ६ मा रहेका छन् ।
भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरू निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरिसकेको छ ।
यस परियोजनाले प्राविधिक पहुँच पूर्णपुरमा स्थापित भई नसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरूको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्नेछ ।