arrow

वल्डलिङ्कको प्रविधिमा थप विस्तार, अब अपलोड स्पिड पनि डाउनलोड जत्तिकै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १६ बिहिबार
worldlink1.jpg

 काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो गिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जीपीओएन) नेटवर्क स्तरोन्नती गर्न आवश्यक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । 

कम्पनीले आफ्नो फाइबर टु होम (एफटीएच) नेटवर्क अर्को सातादेखि क्रमशः  एक्सजीएस–पोनमा अपग्रेड गर्दै लैजाने जानकारी गराएको छ । नेपालमा एक्सजीएस–पोनमा नेटवर्क अपग्रेड गर्ने वर्ल्डलिङ्क पहिलो कम्पनीसमेत हो । 

यससँगै अब फाइबर टु होम इन्टरनेट सेवाको डाउनलोड स्पिड र अपलोड स्पिड समान दिन सकिने कम्पनीले जनाएको छ । यसअघि  सेवा प्रदायकहरुले  डाउनलोड स्पिडभन्दा अपलोड स्पिड थोरै दिने अवस्था थियो ।  

विद्यमान जीपोन नेटवर्क प्रविधिमा २.५ जीबीपीएस डाउनलिङ्क तथा १.२५ जीबीपीएस अपलिङ्क असममित ब्याण्डविथ भएकोले डाउनलोड समानकै अपलोड स्पिड उपलब्ध गराउन सम्भव थिएन  । 

तर अब एक्सजीएस–पोन प्रविधिबाट सममित १० जीबीपीएस डाउनलोड स्पिड र १० जीबीपीएस अपलोड स्पिड समानरुपमा दिन सकिने छ । इन्टरनेट नेटवर्कमा पोन एउटा यस्तो बिन्दू हो जहाँबाट इन्टरनेटको मुख्य फाइबर पूर्वाधार बाट विभिन्न ग्राहकहरूका लागि इन्टरनेटको फाइबर तार अलग्याएर लगिएको हुन्छ र घरको फाइबर राउटर मा जोडिएको हुन्छ ।

जीपोनको तुलनामा नयाँ  १० जीबीपीएस एक्सजीएस पोनमा अपलिङ्क ब्याण्डविथको क्षमता आठ गुणा बढी र डाउनलिङ्क ब्याण्डविथको क्षमता चार गुणा बढी छ । साथै पोन नेटवर्क लेटेन्सीमा पनि जीपोनको तुलनामा केही सुधार हुनेछ । 

‘सैद्धान्तिक रुपमा हरेक जीपोन पोर्टहरूबाट अहिलेको १२८ ग्राहकको तुलनामा दोब्बर संख्या २५६ ग्राहकहरूलाई इन्टरनेट कनेक्सनहरू उपलब्ध गराउन सकिनेछ’, कम्पनीले भनेको छ, ‘साथै विद्यमान जीपोनको तुलनामा  एक्सजीएस–पोनमा हालको एक्सेस लोकेशनबाटै धेरै टाढा रहेको ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने छ  ।’

निकट भविष्यमा एक्सजीएस–पोनलाई सफ्टवेयरबाट अपग्रेड गरी २५ जी पोनको लागि पनि आफ्नो पूर्वाधार कम्पनी नोकियासँग नेपालमा बेटा परीक्षण गर्ने कुराकानी भइरहेको कम्पनीले जनाएको छ । 

यसबाट अब भविष्य मा एक जीबीपीएस भन्दा बढी ब्याण्डविथ स्पिडमा इन्टरनेट सेवा दिन सकिने कम्पनीको दाबी छ । कन्टेन्ट क्रियटर, युट्युबर, स्ट्रिमर, गेमर, भिडियो कन्फ्रेन्स जस्ता अपलिङ्क ब्याण्डविथ बढी प्रयोग गर्ने ग्राहकका लागि यो नयाँ प्रविधिले सहज हुने कम्पनीको विश्वास छ । 

साथै हालसम्म कर्पोरेट ग्राहकलाई जीपोनबाट सेवा नदिइरहेको कम्पनीले अपग्रेडपछि कर्पोरेट र होलसेल ग्राहकहलाई पनि एक्सजीएस पोनबाट पोर्ट, इन्टरनेट तथा एमपीएलएस डेटा सेवा दिने जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ