arrow

नेपालगञ्जका सबै वडा इन्टरनेटको पहुँचमा, वर्ल्डलिंक जडान

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ पुष १३ बुधबार
nepaljung-internet-worldlink.jpg

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।

नगर प्रमुख प्रशान्त विष्टले बुधबार  एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा सुभारम्भ गरेसंगै यहाँका २३ वटै वटा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसंगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्नेछ ।

इन्टरनेट शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३  लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्याइएको बताए । उनले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताए ।

‘तपाईंहरु पनि अब सूचना प्रविधिसंग जोडिनुभएको छ, सूचनाको अधिकार उपभोग गर्न पाउने अवस्था बनेको छ, अब अनलाइनबाट छिटो छरितो काम हुन्छ’, नगर प्रमुख विष्टले भने ।

इन्टरनेट जडान भएपछि वडाबासी हर्षित भएका छन् । स्थानीय रियाज अन्सारीले अब अनलाइनबाटै सेवा प्रवाह हुने अवस्था बनेको भन्दै खुशी ब्यक्त गरे । उनले यसअघि व्यक्तिगत घटना दर्ता गर्नै तीन दिन लाग्ने गरेकोमा अब सहजै काम हुने विश्वास ब्यक्त गरे । वडा नम्बर २३ मा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २३ का वडा अध्यक्ष जब्बर अलि बेहना, निवर्तमान वडा अध्यक्ष मो. हुसेन शेख लगायतले इन्टरनेट सेवा शुरु भएसँगै स्थानीय लाभान्वित हुने भन्दै खुशी ब्यक्त गरेका थिए ।

त्यसक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वातावरण इन्जिनियर प्रकाश डिसी, वडा नम्बर २३ का वडा सचिव गोरखबहादुर नेपाली, वर्ल्ड लिंकका नेपालगन्ज प्रमुख नवराज शर्मा लगायत उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ