arrow

कांग्रेसले ओलीलाई विश्वासको मत नदिने

आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
congress_dal.jpg

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । त्यस्तै अन्य दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने अन्य दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुन आग्रह गरेको खाँणले बैठकपछि संचारकर्मीहरुलाई जानकारी दिए ।

खाँणले भने, ‘प्रधानमन्त्री ओलीको विश्वासको मत लिन प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको हाम्रो निष्कर्ष हो ।’

बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ । २१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो ।

त्यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको, खोप आयातमा कमिशन र भ्रष्टाचारमा संलग्न भएको पनि संसदीय दलले निष्कर्ष निकालेको छ । 



नयाँ